झापा,असोज २९ । झापा बिर्तामोड– ८ गरामनी निवासी कोशी प्रदेश सरकारका खानेपानी , सिंचाई तथा ऊर्जामन्त्री एवं नेकपा एमालेका प्रदेश कमिटी सदस्य एकराज कार्कीले आफ्नो ठाउँमा शक्ति प्रदर्शन गरेका छन् ।

जेनजी आन्दोलनको प्रत्यक्ष मार खप्नु पर्दा आक्रोशित बनेका नेकपा एमालेका नेता कार्यकर्ताहरुले हिजो गरामनीमा विरोध प्रदर्शन गरेका हुन् । मन्त्री कार्कीको पकड क्षेत्र दावी गरिएको गरामनीमा जेनजी आन्दोलनका क्रममा २०२८ सालका झापा विद्रोहका शहीदहरुको शालिक तोडफोड गरिएको थियो । त्यस्तै बिर्तामोड नगरपालिकाको वडा नं ८ र ९ को संयुक्त वडा कार्यालय र मन्त्री कार्कीले नै अगुवाई गरेर बनाएको दुर्गा माविको व्यवसायिक भवनमा आगजनी गरिएको थियो । आन्दोलनका क्रममा मन्त्री कार्कीको घरमासमेत तोडफोड भएको थियो ।

नेकपा एमाले बिर्तामोड नगर कमिटीको आयोजना तथा नगर अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा नेता हरिचरण सिवाकोटीलगायत पार्टीका कार्यकर्ता र्यालीमा सहभागी थिए । उनीहरुले ‘भ्रष्टाचार छानबिन गर , बैदेशिक हस्तक्षेप बन्द गर , फरार कैदी बन्दी पक्राउ गर, कानुनी राज्यको सुनिश्चितता गर , नेकपा एमाले जिन्दावाद, वीर शहीदहरु अमर रहुन्’ जस्ता नाराहरु लगाउँदै र्यालीपछि कोणसभा गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्