झापा,कात्तिक १० । नेपालले भारतमा सम्पन्न चौथो दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ ।

राँचीमा भएको च्याम्पियनसिपमा नेपालले अन्तिम दिन २ रजत र १ कांस्य पदक थप्दै कुल २ रजत र ४ कांस्यसहित तेस्रो भएको हो ।
पुरुष १० हजार मिटर दौडमा राजन रोकाय र पुरुष ८०० मिटर दौडमा सोमबहादुर कुमालले रजत पदक जितेका थिए । धाविका सन्तोषी श्रेष्ठले महिला १० हजार मिटरमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउँदै कांस्य जितेकी थिइन् । सन्तोषीले निर्धारित दूरी ३४ मिनेट ४७.७७ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान बनाइन् । उनले कान्छीमाया कोजुले सन् २००६ मा कोलम्बोमा सागमा बनाएको ३५ मिनेट ०३.४३ सेकेन्डको कीर्तिमान तोडेकी हुन् ।
सन्तोषीले च्याम्पियनसिपको पहिलो दिन ५ हजार मिटर दौडमा पनि कीर्तिमानसहित कांस्य जितेकी थिइन् ।
सन्तोषीलाई भारतीय धाविका रविना गायकवाडले सेकेन्डको अन्तरले पछि पार्दै रजत जितिन् । उनले ३४ मिनेट ४५.४७ सेकेन्ड लगाइन् । श्रीलंकाकी मेथिमी रसाले ३४ मिनेट ३९.५५ सेकेन्डमा १० हजार मिटरको स्वर्ण जितिन् ।
पुरुष १० हजार मिटर दौडमा राजनले ३० मिनेट ३९.१५ सेकेन्डमा दूरी पार गर्दै कांस्य जितेका हुन् । यस इभेन्टमा गोपीचन्द्र पार्कीको नाममा ३० मिनेट ३०.९९ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ । भारतका अभिषेकले ३० मिनेट २९.४६ सेकेन्डमा स्वर्ण जितेका थिए भने भारतकै प्रिन्स कुमारले ३१ मिनेट १७.३७ सेकेन्डमा कांस्य जित्न सफल भए ।
धावक सोमबहादुरले ८०० मिटर दौडमा १ मिनेट ५२.०३ सेकेन्डमा रजत जितेका थिए । उनकै नाममा सन् २०१८ मा जकार्ता एसियाली खेलकुदमा बनाएको १ मिनेट ५०.२५ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ ।
श्रीलंकाका हर्ष करुणाले १ मिनेट ५१.९६ सेकेन्डमा स्वर्ण जित्दा भारतका मेघाली बैंकटरमले १ मिनेट ५२.३७ सेकेन्डमा कांस्य जित्न सफल भए । सोमले च्याम्पियनसिपमा जितेको दोस्रो पदक हो । यसअघि उनले ४ गुणा १०० मिटर मिक्स रिले दौडमा कांस्य जितेका थिए ।

सन् २००८ मा तेस्रो संस्करणमा आयोजना भएको च्याम्पियनसिपमा आयोजक भारतले २० स्वर्णसहित कुल ५८ पदक जितेर च्याम्पियन भयो । श्रीलंकाले १६ स्वर्णसहित ४० पदक जित्दै दोस्रो स्थानमा रह्यो । भुटान पदकविहीन हुँदा बंगलादेशले ३ कांस्य र माल्दिभ्सले १ कांस्य जितेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्