झापा, कात्तिक १२ । जेनजी आन्दोलनका क्रममा गरामनीमा भएको कम्युनिष्ट शहीदका शालिक तोडफोडमा राप्रपाको हात रहेको भन्दै एमालेले खेदो गरेपछि प्रतिकारमा राप्रपाका नेता कार्यकर्ताहरुले सद्भाव ¥यालीका नाममा आफ्नो शक्ति प्रदर्शन गरेका छन् ।

राप्रपाकै कार्यकर्ताहरुले गरामनीमा रहेका झापा विद्रोहका शहीदहरुको शालिक तोडफोड गरेको भन्दै एमालेले पेल्न खोजेपछि उनीहरु प्रतिकारमा उत्रिएका हुन् । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते ८ जना शहीदहरुको शालिक तोडफोड भएको थियो । त्यस घटनामा राप्रपाका कार्यकर्ताहरुको संलग्नता रहेको एमालेको दावी छ । शालिक तोडफोड घटनाको विरोधमा एमालेले गत असोज २८ गते गरामनीमा प्रदर्शन गर्दै क्षतिग्रस्त शालिक नबनाइदिए कडा कार्वाही गर्ने चेतावनी दिएको थियो । त्यस पार्टीले अल्टिमेटम दिँदै तोडफोडमा संलग्न भनिएका व्यक्तिहरुको फोटो सामाजिक संजालमा सार्वजनिक गरी भण्डाफोर गर्दै आएको थियो । त्यस्तै कात्तिक ८ गते एमालेका कार्यकर्ताहरुले एकजना राप्रपा कार्यकर्ताको घरमा गएर हप्कीदप्की गरेको बताइएको छ ।
बिर्तामोड ८ गरामनीमा नेकपा एमालेका नेता एवं कोशी प्रदेश सरकारका खानेपानी , सिंचाइ तथा ऊर्जामन्त्री एकराज कार्की र राप्रपाका युवा नेता तथा बिर्तामोड वडा नं ८ का वडाध्यक्ष अजय कार्कीको घर रहेको छ । पारस्परिक विरोधी मानिएका दुवैले गरामनीमा आ–आफ्नो दबदबा देखाउँदै आएका छन् । एमालेले केही दिनदेखि विभिन्न विरोध कार्यक्रम गर्दै आएकोमा त्यसलाई काउन्टर दिन राप्रपाले कार्यक्रम गरेको हो । आजको प्रदर्शनलाई एमाले कार्यकर्ताहरुले विथोल्ने चेतावनीसमेत दिएका थिए । तर , कोही पनि एमाले कार्यकर्ताको उपस्थिति देखिएन ।
वडाध्यक्ष अजय कार्कीको नेतृत्वमा करिव १५० जनाको उपस्थितिमा नेपालको राष्ट्रिय झण्डासहित विभिन्न नाराहरु लगाउँदै बिरोध ¥यालीले बजार परिक्रमा गरेको थियो । कार्यक्रममा राप्रपाकी पूर्व बिर्तामोड नगर अध्यक्ष रन्जु प्याकुरेलले शहीदहरुको शालिक राप्रपाले तोडफोड गरेको भनेर गलत आरोप लगाएको भन्दै राप्रपाले कहिल्यै तोडफोड नगरेको दावी गरिन् । उनले वडा कार्यालय अगाडिको सार्वजनिक जग्गामा शहीदको शालिक राख्दा सबै राजनीतिक दलहरुका शहीदहरुको शालिक राख्न आवश्यक रहेको बताइन् ।
उनले समाजमा सद्भाव राख्न आवश्यक रहेको भन्दै एकले अर्कालाई दोषारोपण गरेर सामाजिक सद्भाव भड्काउने कार्य गर्न नहुने बताइन् ।अहिलेसम्म राप्रपा सामान्य तवरले शान्तिपूर्ण रुपमा उपस्थित रहेकोले यदि कसैले आक्रमण गर्न आउँछ र आक्रमण गर्छ भने डटेर लड्ने चेतावनी दिइन् ।
त्यस्तै भद्रपुरका युवा माधव पोखरेलले काँग्रेस र एमाले ठुला दल नभएर ठुला हत्यारा भएको आरोप लगाए । उनले उनीहरुले नै राजनीतिक मुठभेड सुरु गरेको दावी गरे । दुवै पार्टीबीच झडप हुनसक्ने देखेर गरामनीमा बाक्लो सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।
जेनजी आन्दोलनमा झापा विद्रोहका क्रममा २०२८ सालमा गरामनीमा मारिएका चन्द्र डाँगी, हेमबहादुर खड्का ,हरिकृष्ण चौधरी , भेटला राजवंशी, बृजीलाल राजवंशी,नेत्र घिमिरे ,कृष्ण कुईकेल र नारायण श्रेष्ठको शालिक तोडफोड भएको हो ।



