झापा, माघ ६ । नियमित सरुवाका क्रममा हेटौडाबाट जिल्ला प्रहरी कार्यालय झापाको कमाण्ड सम्हाल्न आइपुग्न लागेकी प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्काप्रति एमाले अध्यक्ष केपी ओली बेखुश देखिएका छन् ।

आगामी निर्वाचनका लागि झापा क्षेत्र नं ५ मा उम्मेद्वारी दिन लागेका पूर्वप्रधानमन्त्री ओलीले हिजो दमकमा पत्रकारहरुसंग कुरा गर्दै एसपीको सरुवाप्रति आपत्ति जनाएका हुन् । उनले भने,‘म २५ वर्षअघि गृहमन्त्री भएको हुँ । त्यो बेला यस्तो काम कहिल्यै गरिनँ । एसपीबाट निष्पक्षता हुन्छ कि भन्ने डरले सरुवा गरिएको छ । यस्तो सबै दलले आ–आफ्नो पक्षबाट फेर्न माग गरे भने कसरी सुरक्षाकर्मीले काम गर्न सक्छन् ?’

गृह मन्त्रालयले आइतवार ४८ जना प्रहरी उपरीक्षक( एसपी) को सरुवा गरेको छ । यसक्रममा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत एसपी राजन लिम्बूको पनि सरुवा भएको हो । उनको मानव बेचबिखन अनुसन्धान व्यूरो अनुसन्धान व्यवस्थापन शाखा काठमाण्डौंमा सरुवा भएको हो । लिम्बूको ठाउँमा बाग्मती प्रदेश प्रहरी कार्यालय मानव स्रोत व्यवस्थापन महाशाखा हेटौडाबाट बसुन्धरा खड्का आउने भएकी हुन् । एसपी लिम्बू ओलीका पूर्व पीएसओ हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्