मनिषा चम्लागाईँ |झापा

नेपाल चिया विकास निगमले बुधबारदेखि झापा मेचीनगर नगरपालिकाको टोकला चिया कमान सञ्चालनमा ल्याएको छ । निगम अन्तरगतका अन्य चिया कमान पनि सञ्चालनमा आउने भएका छन् ।
सरकारले चिया बगान तथा उद्योगलाई पूर्ण क्षमतामा सञ्चालनका लागि आह्वान गर्दै आएपनि अधिकांश चिया कमान बन्द थिए । कोरोना भाइसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै चिया बगान तथा उद्योग बन्द हुँदा करोडौँ मूल्य बराबरको चिया बगानमा नै खेर गएको छ । बगान सञ्चालनमा ल्याए पनि लामो समयदेखि जारी लकडाउनका कारण बगानममै हुर्केको ‘फस्ट फ्लस’ (चियाको पहिलो टिपाई) चिया काम नलाग्ने भइसकेको बगान सञ्चालक बताउँछन् । गत चैत १९ गते प्रदेश –१को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै चिया टिप्न, ढुवानी गर्न, कारखाना सञ्चालन गर्न स्थानीय तहलाई सुरक्षित मापदण्ड बनाई कार्यान्वयन तथा अनुगमन गर्न निर्देशन दिएको थियो । सोही बमोजिम स्थानीय सरकारसँगको समन्वयमा बगान सञ्चालनमा ल्याइएको नेपाल चिया विकास निगमका प्रमुख लोकनाथ दंगालले बताए । टोकला चिया कमान मेचीनगरबाट बुधबार ३ हजार किलो हरियो चिया पत्ती टिपेको प्रमुख दंगालले जानकारी दिए । कमानमा कार्यरत २ सय मजदुरमा १ सय ८० जना बढी मजदुर काममा आएको उनले बताए ।
“हामीले जोखिमरहित अवस्थामा चिया बगान सञ्चालनमा ल्याएका छौँ” दंगाल भन्छन्, “मजदुरलाई आवश्यक माक्स, पञ्जा, सेनिटाइजर, साबुन पानी, चस्माको व्यवस्था गरेका छौँ ।” फस्ट फ्लस चिया त कामै लगाग्ने अवस्थामा पुगेको उनी सुनाउँछन् । “हुर्कन बाँकी रहेका केही चियाका मुना टिपेर चिया फाँड्ने काम शुरु गरिएको हो” दंगाल भन्छन्, “अहिले चिया नफाँड्ने हो भने, अब पलाउने मुनासमेत पलाउन सक्दैन ।” सामाजिक दुरी कायाम गरी, सवाधानी अपनाएर चिया बगान सञ्चालनमा ल्याइएको नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दिपक तामाङले बताए ।
नेपाल चिया विकास निगम अन्तरगतको बर्ने चिया कमानमा पानी हाल्ने, दबै लगाउने र गोडमेल गर्ने काम भइरहेको छ । बर्ने चिया कमानमा बिहीबार (आज)देखि चिया टिप्ने र फाँड्ने काम शुरु गरिने प्रमुख दंगालले जानकारी दिए । निमग अन्तरगतको इलाम चिया कमान सञ्चालनका लागि इलाम नगरपालिकाले अनुमति दिएको उनी बताउँछन् । त्यस्तै इलामकै सुर्योदय नगरपालिका अन्तरगतको कन्याम चिया कमान, माई नगरपालिका अन्तरगतको चिलिमकोट चिया कमान, झापाको बाह्रदर्शी गाउँपालिका अन्तरगतको बाह्रदर्शी चिया कमान पनि केही दिन भित्रमा नै सञ्चालनमा ल्याउने नेपाल चिया विकास निगमले जानकारी दिएको छ । सम्बन्धित चिया बगान र कारखाना सञ्चालनका लागि सबै स्थानीय तहले अनुमति दिएको बताइएको छ । २०५७ सालमा निजीकरण भएको नेपाल चिया विकास निगमअन्तर्गतका चिया कमानमा ४३५ जना स्थायी मजदुर कार्यरत छन् । अन्य मौसमी मजदुर रहेको चिया विकास निगमले जनाएको छ ।
नेपाल चिया विकास निगमले चिया टिप्ने र फाँड्ने काम सुरु गरे पनि पूर्वका अन्य बगान भने सञ्चालनमा आउन सकेका छैनन् । फस्ट फ्लस चिया बगानमा नै हुर्केकाले किसानको वर्ष भरिको मेहनत खेर गएको छ भने ठूला बगान सञ्चालकलाई करोडौँ रुपैयाँ नोक्सान भएको छ । पूर्वी जिल्ला झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुमलगायत जिल्लामा सञ्चालित चिया बगान र कारखानाबाट बार्षिक २५देखि ३० लाख केजी फस्ट फ्लस चिया उत्पादन हुन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्