झापा, ४ वैशाख । विश्वभर अहिले कोरोना भाइरस (कोभिड—१९) महामारीले सन्त्रास मच्चाइरहेको छ । चीनको वुहानबाट ४ महिनाअघि सुरू भएको यो महामारी अहिले विश्वका सबैजसो देशमा फैलिसकेको छ ।

विभिन्न तथ्यांक निकाल्ने संस्था वल्र्ड मिटर्स डट इन्फोका अनुसार बिहीबार बिहानसम्म कोरोना संक्रमितको संख्या २० लाख ८२ हजार १०९ पुगेको छ । पछिल्लो २४ घण्टाभित्र मात्रै ८० हजार नयाँ संक्रमित थपिएका छन् ।
अहिलेसम्म विश्वभर कोरोना भाइरसका कारण १ लाख ३४ हजार ६०३ जनाले ज्यान गुमाएका छन् । कोरोनाको उद्गमस्थल चीन भएपनि सबैभन्दा बढी अमेरिकामा कोरोनाको संक्रमण भएको छ । अहिलेसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या ६ लाख ४४ हजार बढी रहेको छ । बुधबार मात्रै अमेरिकामा ३० हजार नयाँ संक्रमित थपिएका छन् ।

कोरोनाका कारण मृत्यु हुनेमा पनि सबैभन्दा अगाडि अमेरिका नै छ । अहिलेसम्म त्यहाँ २८ हजार ५२९ बढीको मृत्यु भइसकेको छ । त्यहाँ बुधबार मात्रै २ हजार ४ सयभन्दा बढीको मृत्यु भएको वल्र्ड मिटर्सले जनाएको छ ।
अमेरिकापछि स्पेन, इटाली, फ्रान्स, जर्मनीमा बढी संक्रमण भएको छ । वल्र्ड मिटर्सका अनुसार स्पेनमा अहिलेसम्म १ लाख ७४ हजार बढी संक्रमित भएका छन् । बुधबार मात्रै त्यहाँ ६ हजार ६ सय नयाँ संक्रमित थपिएका छन् ।
स्पेनमा अहिलेसम्म १८ हजार ८१२ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टाभित्र मात्रै त्यहाँ कोरोनाका कारण ५५७ सय जनाको मृत्यु भएको छ ।इटालीको अवस्था पनि स्पेनको जस्तै भयावह छ । बिहीबार बिहानसम्म इटालीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २१ हजार ६४५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै इटालीमा ५७६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्