बिर्तामोड, बैशाख ४ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड—१९) को महामारीको रोकथाम र राहत व्यवस्थापनमा यतिबेला सरकारको तीनै तह जुटिरहेका छन् । सरकारलाई राजनीतिक दल र विभिन्न संघसंस्थाहरुले पनि सहयोग गरिरहेका छन् ।

नेपालसहित विश्वकै लागि कोरोना महामारीको रोकथाम चुनौती बनेको छ । कोरोना रोकथामका लागि लगाइएको लकडाउनका कारण नेपालमा खाद्यान्न अभाव भएको छ । अभाव टार्नका लागि सरकारी , गैरसरकारी र ब्यक्तिगत तहबाट प्रयास जारी छ । झापा जिल्लाको हकमा सत्तारुढ , प्रतिपक्षीसँगै विभिन्न राजनीतिक दलले राहत सहयोगमा सक्रियता देखाएका छन् । मेचीनगर नगरपालिकामा सबै राजनीतिक दलहरुले सँगै नगरपालिका गएर राहत कोषमा संयुक्त रुपमा सहयोग गरेर एक भएको सन्देश दिन खोजेका छन् भने अन्य पालिकाहरुमा एक्लाएक्लै सहयोग गरिरहेका छन् । बुद्धशान्ति गाउँपालिकाका जनप्रतिनिधिहरुले भने पार्टीगत रुपमा राहत बुझाए । नेपाली कांग्रेस निकट र नेकपा निकटका जनप्रतिनिधिहरुले अलग अलग रुपमा राहत कोषमा तलब भत्ता दिने निर्णय गरे ।

सत्तारुढ नेकपासँगै कांग्रेसले पनि राहत कोषमा सहयोग गर्ने क्रमलाई निरन्तरता दिएको छ । आज नेपाली कांग्रेस बिर्तामोड नगर समितिले बिर्तामोड नगरपालिकाको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा राहत व्यवस्थापन कोषमा ३ लाख ५७ हजार रुपैयाँ सहयोग गरेको छ । हिजो नेपाली कांग्रेस झापा गाउँ समितिले १ लाख ५१ हजार रुपैयाँ झापा गाउँपालिकालाई प्रदान गरेको थियो । कांग्रेसको विभिन्न तह तप्काले जिल्लाका सबै पालिकाहरुलाई सहयोग गर्ने कार्यक्रम रहेको महासमिति सदस्य देउमान थेबेले बताए । कांग्रेस झापाका पूर्व कार्यवाहक सभापतिसमेत रहेका थेबेले सबै ठाउँमा राहत बाँडिनु पर्ने भएकाले राहत एकद्वार प्रणालीबाटै वितरण गरिनु उचित हुने भन्दै जम्मा भएका राहतको सही सदुपयोग हुन्छ कि हुँदैन भनेर कांगे्रसले लेखाजोखा गर्ने बताए । उनले नगरपालिका र गाउँपालिकाका जनप्रतिनिधिहरुले यतिबेला आ—आफ्नो दलभन्दा माथि उठेर खाद्यान्न नै नभएका विपन्न परिवारलाई राहत दिनु पर्नेमा जोड दिए ।
प्रतिनिधिसभा निर्वाचनमा सदस्यका प्रत्यासी थेबेले विश्वव्यापी कोरोना भाइरसको महामारी रोक्न सरकारले लागू गरेको लकडाउनबाहेक अर्को विकल्प नभएको बताए । झापाको दुईतिर भारतको बंगाल र विहार रहेकाले एकदमै जोखिम भएको बताउँदै उनले भने‘ सुरक्षा निकायले राम्रै निगरानी गरिरहेको छ ,स्थानीय नागरिकहरुले पनि सचेत हुन जरुरी छ । ’ थेबेले उच्चस्तरीय राजनीतिक संयन्त्र आफ्नो पार्टीको एजेन्डा नभएको स्पष्ट पार्दै त्यो सत्तारुढ दलभित्रकै दुईजना पाइलटमध्ये एकजनाको भएको दावी गरे । उनले कोरोनाको रोकथाम र उपचारमा अहोरात्र खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र विभिन्न संघसंस्था धन्यवादको पात्र भएको बताए । ‘सरकारले बेलैमा सजगता अपनाउन सकेन’ उनले भने, ‘अब अन्तिममा आएर लकडाउनमा बसेर हामीले ज्यान जोगाउनै पर्छ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्