मेचीनगर, साउन ७ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४६ औँ स्मृति दिवस सोमवार झापाको मेचीनगर–६ काँकरभिट्टास्थित वीपी पुष्पलाल बाटिकामा विविध कार्यक्रम गरी मनाइएको छ ।

नेकपा एमाले मेचीनगर कमिटीले पुष्पलालको जीवनीबारे अन्तरक्रिया, बृक्षरोपण र रक्तदान कार्यक्रम गरी स्मृति दिवस मनाएको हो । वीपी पुष्पलाल बाटिकामा रहेको पुष्पलालको पूर्णकदको शालिकमा माल्यार्पण गरेर कार्यक्रम सुरु गरिएको थियो । सोही स्थानमा रहेको नेपाली काँग्रेसका संस्थापक नेता वीपी कोइरालाको शालिकमा समेत माल्यार्पण गरिएको थियो ।

पार्टीकी केन्द्रीय सदस्य तथा मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोख्रेल उप्रेतीको प्रमुख आतिथ्य तथा नगर कमिटी अध्यक्ष राजु कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद सदस्य विष्णु प्रसाई, मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, कोशी प्रदेश सभाका पूर्वसांसद् श्रीप्रसाद मैनाली, नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य देबकुमार राईलगायतको उपस्थिति रहेको थियो ।नगर सचिव सागर ओलीले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रमुख अतिथि केन्द्रीय सदस्य उप्रेतीले पुष्पलालले राजनीतिक जीवन नेपाली राष्ट्रिय काँग्रेसबाट शुरु गरेपनि पछि कांग्रेसमा किचलो बढ्दै गएपछि कम्युनिष्ट आन्दोलनतर्फ लागेको बताइन् । पार्टीका झापा जिल्ला कमिटी अध्यक्ष प्रेम गिरीले पुष्पलालको जीवनीमाथि प्रकाश पार्दै नेपाली बाम प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय पुष्पलालको योगदान उच्च रहेको स्पष्ट पारे ।

पुष्पलाल स्मृति दिवसकै अवसर पारेर अनेरास्ववियू मेचीनगरले मेची सामुदायिक भवनमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । जहाँ २५ जनाले रक्तदान गरेका थिए । बाटिका परिसरमा बृक्षरोपणसमेत गरिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्