झापा, बैशाख १३ । ६ विद्यार्थी संगठनले सांसद अपहरण गर्नेलाई छानविन गरी कारवाही गर्न सरकारसँग माग गरेका छन् ।

नेपाल विद्यार्थी संघ, समाजवादी विद्यार्थी युनियन, राष्ट्रिय विद्यार्थी संघ, विप्लव निकट अखिल (क्रान्तिकारी), राप्रविसं संयुक्त र अखिल (क्रान्तिकारी) ले सांसद अपहरण गर्नेलाई छानविन गर्न माग गरेका हुन् । उनीहरूले शनिबार निकालेको विज्ञप्तिमा ‘सांसदलाई जवरजस्ती मानसिक दवाव दिने आपराधिक कार्यमा संलग्न सम्पूर्णलाई कानुनी कारवाहीको दायरामा ल्याइ हदैसम्मको कारवाही गर्न सरकारसँग माग गर्दछौं’ उल्लेख छ ।

हालै समाजवादीका सांसद डा.सुरेन्द्र यादवलाई अपहरण शैलीमा काठमाडौं ल्याइएको थियो। ‘राजनीतिलाई विकृत बनाई नेपाली जनतालाई राजनीतिक क्षेत्रप्रति नै वितृष्णा गराउने गरी घटाइएको यस अपहरण काण्डमा संलग्न रहेकाहरुलाई सरकारले कारवाही नगरे हामी आफैँ कारवाही गर्न बाध्य हुनेछौँ,’ विद्यार्थी संगठनले भनेका छन् । नेविसंघ महामन्त्री दिपक भट्टराईले सरकार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा गम्भीर नदेखिएको बताए । ‘जनतालाई घरमा थुनेर सरकार भने सडकमा भौतारिएको छ,’ उनले भने, ‘सांसद यादव प्रकरणको सरकारले मसिनो गरी छानविन गर्नुपर्छ, दोषीलाई कारवाही गर्नुपर्छ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्