झापा,बैशाख १३ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले देशकै सबैभन्दा बढी कोराना प्रभावित क्षेत्र उदयपुर भुल्केको अनुगमन गरेका छन् ।

उनले प्रदेशमा देखिएको कोरोना भाइरसको संक्रमण काबुभित्र रहेको बताए ।कोरोना नियन्त्रण, रोकथाम र उपचारमा उच्च मनोवलका साथ काम गर्न सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्दै मुख्यमन्त्री राईले आवश्यक बजेट र साधनस्रोत उपलब्ध गराईने बताए । उदयपुरमा आइसोलेशनसहितको कोरोना उपचार केन्द्र निर्माण गर्ने जानकारी दिँदै उनले त्यसको लागि उपयुक्त ठाउँको खोजी भइरहेको बताए । मुख्यमन्त्रीसँगै आएका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले उदयपुर सम्बेदनशील क्षेत्र बनेकोले सुरक्षा व्यवस्था थप कडा गरेर काम भइरहेको बताए । सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना परीक्षण र उपचारको लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री तथा जनशक्ति कमी हुन नदिइने बताए । संक्रमित मुस्लिम धर्मगुरुहरूबाट कोरोना संक्रमण नफैलिएको बताउँदै उनले विदेशबाट आएका स्थानीयबाट कोरोना संक्रमण भएको जानकारी दिए ।

मुख्यमन्त्री तथा मन्त्रीहरुलाई त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले भुल्के र समग्र जिल्लाको बस्तुस्थितिको बारेमा जानकारी गराएका थिए । गृहजिल्ला भोजपुरमा कोरोना अवस्थाको अवलोकन तथा अध्ययनपछि हेलिकप्टरमा भुल्के आइपुगेको मुख्यमन्त्रीको टोली उदयपुरको कटारी १ बेलसोत स्थित बेलसोत प्रदेश क्वारेन्टाइनको अवलोकनपछि फर्किएको छ । टोलीले भोजपुरको हतुवागढी ६ होम्ताङका एक युवामा कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्य सामग्रीसमेत सो क्षेत्रमा लगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्