झापा, बैशाख १५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली अल्पमतबाट जोगिन माधव नेपाल समूहलाई फकाउने अन्तिम प्रयासबीच भएको छलफल सकिएको छ ।

आज नेपाल निवास कोटेश्वरमा छलफल भएको हो ।
छलफलमा भोलि सचिवालय बैठक बस्ने सहमति भएको नेपाल समूहबाट बैठकमा सहभागी रघुजी पन्तले जानकारी दिए। ’भोलि सचिवालय बैठक बस्ने सहमति गरिएको छ’ पन्तले भने ’त्यसपछि स्थायी समिति बस्ने गरी सहमति भयो ।’
आज बिहान प्रधानमन्त्री ओलीले नेपाललाई बालुवाटार बोलाएर मिलेर अघि जान तयार रहेको प्रस्ताव गरेका थिए । नेपालले अरु साथीहरूसँग पनि छलफल गर्नुपर्ने बताएपछि आज दिउँसो बैठक बसेको थियो। ओलीका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, विष्णु पौडेल, प्रदिप ज्ञवाली र शंकर पोखरेल र नेपाल समूहबाट माधव नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र रघुजी पन्त कोटेश्वरमा सहभागी थिए । हिजो नेपाल निवासमा भएको भेलाले पार्टी र सरकार दुवैतिर ओलीको नेतृत्व असफल भएकोले विकल्प खोज्नुपर्ने निश्कर्ष निकालेपछि ओलीले समूहले नेपाल समूहलाई आफुतिर ल्याउन हरदम प्रयास गरिरहेको छ ।

खुमलटारमा प्रचण्ड र झलनाथ
यसैबीच कोटेश्वरमा नेपाल र ओलीसमूहबीच छलफल चलिरहँदा खुमलटारमा प्रचण्ड, झलनाथ खनाल र वामदेव गौतमबीच छलफल भएको थियो। कोटेश्वरमा नेपाल र ओली समूहको निष्कर्षपछि खुमलटार छलफलले थप रणनीति बनाउने निष्कर्ष निकालेको स्रोतको दाबी छ । पछिल्लो समय सत्तारुढ नेकपाभित्रको आन्तरिक विवादले जटिल मोड लिएको छ । खासगरी अध्यादेश जारी तथा फिर्ता प्रकरणपछि पार्टीभित्र ओलीविरुद्धको मत बलियो बन्दै गएको छ । ओलीको विकल्प खोज्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम समूह एकै ठाउँमा उभिएपछि यो समिकरणलाई जसरी नै भत्काउने प्रयासमा बालुवाटार जुटेको हो। यसका लागि नेपाललाई उपयोग गर्ने रणनीतिअनुसार उनलाई फकाउने प्रयास भइरहेको छ। ओली कुनै पनि हालतमा हट्न तयार नहुने अवस्था र विरोधी पक्षको सक्रियताका कारण कुनै बेला नेकपाभित्र दुर्घटना हुनसक्ने चिन्ता पार्टी पंक्तिमा छाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्