झापा, १५ बैशाख । नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा पूर्व उपप्रधान एवम् गृहमन्त्री कृष्णप्रसाद सिटौलाका छोरा श्याम सिटौलाले आफ्नो विवाह भोजको खर्च कटाएर कोरोना रोकथाम कोषका लागि स्थानीय सरकारलाई आर्थिक सहयोग गरेका छन् ।

सिटौलाले नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ३ मार्फत सो क्षेत्रभित्र रहेको एक नगरपालिका र ३ वटा गाउँपालिकाका लागि एक—एक लाखका दरले आर्थिक सहयोग गरेका हुन् । यस्तै विवाह भोजको दिन पारेर श्यामले आफ्नो निवास रहेको भद्रपुर १० नम्बर वडा र पुरानो निवास स्थान बिर्तामोड १० नम्बर वडा कार्यालयलाई पनि ५० हजारका दरले आर्थिक सहयोग गरेका थिए ।
यही बैशाख १४ गते बिर्तामोड निवासी मनिषा विमलीसित विवाह बन्धनमा बाँधिएका श्यामले कोरोना संक्रमणका कारण बन्दाबन्दी भएपछि दैनिक ज्यालादारीमा जीविका चलाउनु पर्ने अतिविपन्न परिवारका व्यक्तिलाई खाद्यान्न जुटाएर वितरण गर्न स्थानीय सरकारलाई सहयोग गरेको जानकारी दिए ।

भद्रपुर नगरपालिकाबाट सुरू भएको आर्थिक सहयोग कार्यक्रम कचनकवल, हल्दिवारी हुँदै बाह्रदशीमा टुङ्गिएको थियो । कार्यक्रममा क्षेत्रीय सभापति गणेश पोखरेल, नवीन विमली, जिल्ला सदस्य विजय रिजाल, महासमिति सदस्य भूमिप्रसाद राजवंशी, शिक्षक संघका सचिव योगेन्द्र पौडेललगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्