राजेन्द्र गौतम । झापा, वैशाख १५ । नेपालको पूर्वीनाकाको सीमावर्ती भारतीय बजार पानीट्याङ्कीमा केही दिनदेखि अलपत्र परेका ७८ जना नेपालीलाई तत्कालका लागि हिजो साँझदेखि खाना खाने प्रबन्ध मिलाइएको छ । मेची अभियान नामक संस्थाले खाने प्रबन्ध मिलाएको हो ।

अभियानका संयोजक विजय डालमिया र अभियानमा आबद्धहरुको सक्रियतामा अलपत्र नेपालीलाई हिजो साँझ नै चामल १० बोरा ( १० कट्टा), ३० किलो दाल , १० किलो नुन , १२ लिटर तेल, १० किलो चिनी र दुई प्याकेट मसला उपलब्ध गराइएको हो । पानीट्याङ्कीका स्थानीय व्यापारी गणेश पाण्डेलाई आग्रह गरेर सो खाद्यान्न उनीहरूलाई उपलब्ध गराइएको संयोजक डालमियाले बताए । सो खाद्यान्नको रकम व्यापारी पाण्डेलाई उपलब्ध गराइ सकिएको छ । सीमा सिल रहेको विषम परिस्थितिमा सुरक्षाकर्मीसँग समन्वय गरेर खाद्यान्न उपलब्ध गराइएको हो । अलपत्र नेपालीलाई सुत्न बस्नका लागि पानीट्याङ्कीको एक होटलमा व्यवस्था गरिएको छ । अलपत्र परेका नेपालीले होटलसँग समन्वय गरेर अहिले खानेबस्ने गरिरहेका छन् ।

उनीहरूलाई नेपाल ल्याउने वातावरण नबनेसम्म भोकै बस्नु पर्ने अवस्थाको निराकरण गर्न अभियान जुटेको छ । राष्ट्रिय संकट, महामारी र आपद विपदका बेला मानवीय सहयोग गर्ने उद्देश्यले पाँच वर्ष अघि जनस्तरमा गठित अभियानले कोरोना संक्रमणको अहिलेको सन्त्रासमा मास्क,पिपिई उत्पादन र वितरणमा आफूलाई सक्रिय बनाएको छ । अभियानले डिसइन्फेक्सन टनेल ( सेनिटाइजर स्टल) निर्माण गरेर झापाको मेची अञ्चल अस्पताल भद्रपुर , जिल्ला प्रहरी कार्यालय चन्द्रगढी, इलाका प्रहरी कार्यालय काँकडभिट्टा लगायतका ठाउँमा राखेको छ । सीमावर्ती भारतीय क्षेत्रहरु लुवागड, खोरीबारी,पानीट्याङ्की,ठाकुरगञ्ज, डिघलबैक लगायतका क्षेत्रहरुमा २०० बढी नेपाली अलपत्र परेको सार्वजनिक भएपछि जिल्लाका सामाजिक संघसंस्था र झापा प्रशासन उनीहरुको उद्दारको तयारीमा जुटे पनि त्यो सम्भव भएको छैन । सरकारको निर्णय बिना उनीहरूलाई नेपाल ल्याउन नसकिने बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्