दमक, १५ बैशाख । कोरोना भाइरस ( कोभिड–१९ ) को संक्रमण नियन्त्रणका लागि झापाको दमकमा हालसम्म ८४ जनाको पिसिआर परीक्षण गरिएको छ ।

तीन दिनअघि दमक— ३ का एक ६२ बर्षिय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संक्रमित क्षेत्रलाई सिल गरी संभावित संक्रमितहरुको खोजी तीव्र पारिएको नगरपालिकाले जनाएको छ । यस अन्तर्गत पहिलो चरणमा शंकास्पद व्यक्तिहरुमा कोरोना भाइरस भए,नभएको आरडीटी परीक्षण गर्नुका साथै थ्रोट स्वावको नमुना संकलन कार्य पुरा भएको छ ।
संक्रमण फैलिने संभावना भएकाले त्यसको पहिचान गर्न हालसम्म ८४ जनाको पिसिआर परीक्षण गरिएको दमक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर खड्गलाल लिम्बूले बताए ।
नगरपालिकाले आज कोरोना नियन्त्रण तथा रोकथामका क्षेत्रमा भईरहेको कार्यक्रमका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै डाक्टर लिम्बूले संक्रमण नियन्त्रण तथा रोकथामका लागि नगरपालिकामार्फत भईरहेको कार्यका बारेमा जानकारी गराए ।
पिसिआर परीक्षण पहिलो चरणमा दमकका विभिन्न क्षेत्रका शंकास्पद ३० जनाको गरिएको र त्यसमा ती वृद्धमा संक्रमण पुष्टि भएको थियो । संक्रमित व्यक्तिसंग सम्पर्कमा आएका ५४ जनाको समेत आइतबार आरडीटी परीक्षण तथा पिसिआरका लागि थ्रोट स्वाव संकलन गरी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाईएको उनले बताए । पिसिआर परीक्षणको रिपोर्ट भोलिसम्ममा आउने उनको भनाइ छ ।
संक्रमित क्षेत्रमा डा. लिम्बूको संयोजकत्वमा स्वास्थ्यकर्मी,प्राविधिकहरुको छुटाछुट्टै चार टोली परिचालित भएको थियो ।
उनका अनुसार संक्रमण रोकथाम गर्न हालसम्म नगरभित्रका १५७ जनाको समेत र्यापिड डाइग्नोटिष्ट टेस्ट (आरटीडी)परीक्षण गरिएको छ । यसैगरी हालसम्म दमक अस्पतालले सञ्चालन गरेको आइसोलेशनमा १३ जनाले सेवा पाउनुका साथै १ पुरुष र २ महिला गरी तीन जना हाल उपचाररत रहेको उनले बताए । त्यस्तै, दमकका अन्य ३ वटा क्वारेन्टाइनमा भने हाल ४१ जना रहेका छन् । ती सवैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाईएको छ ।

यसैगरी सोहि अस्पतालले सञ्चालन गरेको फिवर क्लिनिकमा २६० जनाको स्वास्थ्य परीक्षण गरिएको डा. लिम्बूले बताए ।
सो अवसरमा आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नविन ढकालले अस्पतालले कोभिड १९ सहित अन्य रोगका उपचारका बारेमा भईरहेको गतिविधिका बारेमा जानकारी गराए । कोरोना भाइरस संक्रमण देखिएपछि जिल्लामा नै पहिलोपटक आम्दा र दमककै सरकारी अस्पताल दमक अस्पतालले दैनिक फिभर क्लिनिक सञ्चालन गर्दै आएको छ ।
आम्दाका मेसु डा. ढकालले फिभर क्लिनिकमा हालसम्म ६८४ जनाकोे परीक्षण गरिएको र तीमध्ये ४ जनालाई दमक अस्पतालमा रेफर गरिएको बताए । आम्दाले चार शैय्याको आइसोलेसन सञ्चालन गर्दै आएकोमा त्यसबाट हालसम्म ४ जनाले सेवा पाएको उनले जानकारी दिए ।
पत्रकार सम्मेलनमा नगर प्रमुख रोमनाथ ओलीले महामारीको रुपमा फैलिएको कोरोना संक्रमण तथा नियन्त्रणका लागि स्थानीय सरकारले प्रभावकारी कार्य गर्दै आएको बताए । उनले संक्रमणको जोखिम हुन नदिन जारी लकडाउनलाई सवैले पालना गर्नुपर्ने भएकाले नगरवासीलाई आ—आफनो घरमा बसिदिन आग्रह गरे । उनका अनुसार संक्रमित वृद्ध हाल विराटनगरस्थित कोशी अस्पतालको कोभिड अस्पतालमा उपचाररत छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्