दमक, १७ बैशाख । पाँच दिनअघि दमक— ३ का एक ६२ बर्षिय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संक्रमित क्षेत्रलाई सिल गरी संक्रमितको सम्पर्कमा आएका ५४ जनामा गरिएको स्वाब परीक्षणमा कसैलाई पनि संक्रमण नभएको पाईएको छ ।

नगरपालिकाले जारी गर्दै आएको दैनिक विज्ञप्तिमा तीन दिनअघि पिसिआरका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाईएको थ्रोट स्वावको परीक्षणको रिपोर्ट नेगेटिभ आएको जनाएको हो । तर कतिवटा स्वाबको नमुना परीक्षण भयो भन्ने विज्ञप्तिमा आधिकारीक रुपमा खुलाईएको छैन । पिसिआर परीक्षण पहिलो चरणमा दमकका विभिन्न क्षेत्रका शंकास्पद ३० जनाको गरिएको थियो । गत बैशाख १२ गते ती वृद्धमा संक्रमण पुष्टि भएको थियो । संक्रमितलाई सोही दिन राति नै विराटनगरस्थित कोशी कोभिड अस्पतालमा उपचारका लागि पठाईएको छ ।
नगरपालिकाले संक्रमण देखिएलगत्तै संक्रमित व्यक्तिसंग सम्पर्कमा आएका व्यक्तिको पहिचान गरी गत आइतबार पिसिआर परीक्षण गरेको थियो ।दमकमा हालसम्म ८४ जनाको पिसिआर, १५७ जनाको र्यापिड डाइग्नोटिष्ट टेस्ट (आरटीडी)परीक्षण गरिएकोमध्ये एक जनामा संक्रमण पुष्टि भएको दमक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर खड्गलाल लिम्बूले बताए । संक्रमित क्षेत्रमा डा. लिम्बूको संयोजकत्वमा स्वास्थ्यकर्मी,प्राविधिकहरुको छुटाछुट्टै चार टोली परिचालित भएको थियो ।
उनका अनुसार दमक अस्पतालले सञ्चालन गरेको आइसोलेशनमा १३ जनाले सेवा पाउनुका साथै १ पुरुष र २ महिला गरी तीन जना हाल उपचाररत छन् । त्यस्तै, दमकका अन्य २ वटा क्वारेन्टाइनमा भने हाल २५ जना रहेका छन् । ती सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाईएको छ ।
यसैगरी सोही अस्पतालले सञ्चालन गरेको फिवर क्लिनिकमा २६० जनाको स्वास्थ्य परीक्षण गरिएको डा. लिम्बूले बताए । कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न जिल्लामा नै पहिलोपटक आम्दा र दमककै सरकारी अस्पताल दमक अस्पतालले दैनिक फिभर क्लिनिक समेत सञ्चालन गर्दै आएको छ ।
यससँगै कमल गाउँपालिकाले धरानको प्रयोगशालामा पठाएको ४ जनाको स्वाब परीक्षणको रिपोर्टमा पनि संक्रमण नदेखिएको गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताएकी छन् ।

निषेधित क्षेत्र हटाईयो
गत बैशाख १३ गते संक्रमित क्षेत्र आसपास गरिएको निषेधित क्षेत्र हटाईएको नगरपालिकाले जनाएको छ । दमक— ३ स्थित संक्रमण क्षेत्रमा कोरोना फैलिएको हुनसक्ने भन्दै नगरपालिकाले त्यस आसपास सिल गरी परीक्षण गरेको थियो ।
तर प्रयोगशालामा पठाइएको परीक्षणमा सवैको रिपोर्ट नेगेटिभ आएपछि त्यहाँको घोषित सिल हटाइएको नगरपालिकाकी प्रवक्तासमेत रहेकी उपमेयर गीता अधिकारीले बताएकी छन् । तर लकडाउन जारी रहेको अवस्थामा अत्यावश्यक काममा बाहेक अनावश्यक हिडडुल गर्न नपाउने उनले बताईन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्