भद्रपुर, १८ वैसाख । विकास निर्माणमा पछाडि परेको झापा क्षेत्र नम्बर ३ मा अघिल्लो सरकारका पालामा निर्माण सुरू भएका बहुवर्षे आयोजना दुई वर्षयता अलपत्र परेका छन् ।

झापा सदरमुकाम दक्षिणको उन्नति प्रगतिमा महत्वपूर्ण भूमिका निभाउने सडक, सिञ्चाइ, सामुदायिक भवन, खानेपानी आयोजना, विद्यालय भवनलगायतका दर्जनौं आयोजनाका लागि सरकारले पठाउनु पर्ने रकम दुई आर्थिक वर्षयता निकासा नगर्दा अलपत्र परेका हुन् । यस वर्ष पनि सरकारले अधिकांश आयोजनाका लागि वजेट नपठाएपछि काम सुरू भएका दर्जनबढी आयोजना अलपत्रमै थन्किने भएका छन् । आर्थिक वर्षको सुरुवातमा बजेट नपठाएको सरकारले अब बन्दाबन्दीको बाधा देखाएर वजेट नपठाउने निश्चित भएपछि प्रगतिको चाहना राख्ने स्थानीय निराश बन्ने भएका छन् ।
रकम पनि नपठाउने र स्थानीयका पीडा पनि नसुन्ने निरन्तरताका कारण नागरिकमा निराशा उत्पन्न हुन पुगेको हो । गएको निर्वाचनमा तत्कालीन सांसदसमेत रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले झापा क्षेत्र नम्बर ३ को विकासमा बेवास्ता गरेको हल्ला मच्चाएर राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले बाजी मारे । तर, निर्वाचित भएपछि लिङ्देन अलपत्र आयोजना हेर्न समेत गएका छैनन् । सिटौला पराजित सांसद भएकै कारण आफ्नो बोली बिकाउन सक्ने अवस्थामा छैनन् । जसको असर जनसरोकारका रूपमा रहेका आयोजनामा परिरहेको छ ।

यस्तै पीडामा परेका भद्रपुर— ३ स्थित अरनिको माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षक अलपत्र भवन हेरेर दशकयता पीडित बन्दै आइरहेका छन् । भारतीय दुतावासको आर्थिक सहयोगमा निर्माणाधीन झापाको साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका ३ सूर्यनगरस्थित अरनिको माविको भवन रकम निकासा रोकिएको बहानामा ठेकेदारले अलपत्र अवस्थामा छाडिदिएपछि विद्यार्थी वर्षौंदेखि जोखिम मोल्दै पठनपाठन गर्न बाध्य भएका छन् । ३२ कोठे दुई तले विद्यालय भवन निर्माण अवधि सकिएर निर्माण सुरू गरेका ठेकेदार कम्पनी काम अधुरो छाडेर एक वर्षदेखि सम्पर्कविहीन बनेका छन् । विद्यालय व्यवस्थापन समितिले नगर सरकारदेखि संघीय सांसदसम्मलाई भवन निर्माण सम्पन्न गराउनका लागि ठेकेदारलाई कानुनी दायरामा ल्याउन हारगुहार गरेपनि हालसम्म काम हुन सकेको छैन । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले १० वर्षदेखि सुविधायुक्त कक्षा कोठामा पठनपाठन गर्न पाउने अधिकारबाट समेत बञ्चित हुनु परेको छ । भद्रपुर सरकारले बालमैत्री नगर घोषणाको तयारी गरिरहँदा आधारभूत अधिकारभित्र पर्ने विद्यालय भवनको अलपत्र अवस्थाले प्रश्न उठाइरहेको छ । वि. सं २०२४ सालमा स्थापना भएको अरनिको माविको भवन स्तरोन्नतिका लागि भारतीय राजदूतावासले नेपाल सरकारको मातहत रहेको पूर्वाधार विकास मन्त्रालयमार्फत् चार करोड २१ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । २०६७ सालमा ३ करोड ८६ लाखमा ३ वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी राजधानी कन्स्ट्रक्सन काठमाडौंका सुवास लामाले भवन निर्माणको लागि ठेक्का लिएका थिए । ठेक्का लिएको करिब चार वर्षपछि अर्थात् २०७१ साल चैतदेखि भवन निर्माणको काम सुरु गरेको निर्माण कम्पनीले पूरा काम नगरी अधुरो छाडेको कारण समस्या परेको विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम खरेलले दुखेसो पोखे । तत्कालीन जिल्ला विकास समिति झापाको प्राविधिक रेखदेखमा सुरू भएको विद्यालय भवनको निर्माण कार्य दुइ वर्षयता ठप्प रहेको छ । ठेकेदारले अलपत्र छाडेको अधुरो विद्यालय भवन साँझ परेपछि युवायुवतीहरुका लागि सुरक्षित प्रेम प्रणयस्थल बन्ने गरेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्