राजगढ, बैशाख २२ । कोरोना संक्रमित ब्यक्तिबाट समुदायमा रोग सरेको नदेखिएपछि बाह्रदशी गाउँपालिकाले निशेधित क्षेत्र हटाएको छ ।

बैशाख १८ गतेदेखि लागु गरिएको सिल हिजोबाट हटाइएको हो । बाह्रदशी— ४ का ४९ वर्षिय पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएपछि त्यसको भोलिपल्ट संक्रमित क्षेत्र सिल गरिएको थियो । गाउँपालिकाले पूर्वमा साविक चकचकी गाविसको सिमाना कंचनमार्ग, पश्चिममा विरिङ खोला, उत्तरमा साविक चकचकीको सिमाना पाख्रिवास र दक्षिणमा राधानगर र घाग्रा खोलासम्मको चार किल्ला भू– भाग सिल गरेको थियो । कोरोना संक्रमितको सम्पर्कमा आएका ब्यक्तिहरुको परीक्षण गर्दा कसैमा पनि संक्रमण नदेखिएपछि सर्वसाधारणको समस्यालाई मध्यनजर गरी सिल हटाइएको गाउँपालिका अध्यक्ष खड्ग राजवंशीले बताए । गाउँपालिका र जिल्ला स्वास्थ्य कार्यालयको टोलीले ६३ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्न कोशी अञ्चल अस्पताल विराटनगर पठाउँदा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । समुदायमा संक्रमण नपुगोस् भनेर हिजोबाट प्रत्येक वडामा स्वास्थ्यकर्मीहरुको टोली खटाइएको अध्यक्ष राजवंशीले बताए । उनले ती टोलीले संक्रमित ब्यक्तिसँग सम्पर्कको बारेमा सोधपुछ गर्ने, स्वास्थ्य परीक्षण गर्ने, विरामीहरुको सूची तयार गर्ने गरेको जनाइएको छ । ‘संक्रमित ब्यक्तिको सम्पर्कमा आएकाहरु छुटेका हुन सक्छन् ’अध्यक्ष राजवंशीले भने, ‘मैले अझै ५० जनाको पीसीआर परीक्षण गर्न भनेको छु ।’

नयाँ दिल्लीस्थित निजामुद्दीनमा मुस्लिम संस्था तबलीगी जमातको हेडक्वाटरमा भएको धार्मिक सभामा सहभागी भएर घर फर्किएको ४५ दिनपछि बाह्रदशी— ४ का ४९ वर्षिय मुस्लिम धर्मगुरु (मुल्बी)मा कोरोना संक्रमणको पुष्टि भएको हो । उनको कोशी अञ्चल अस्पतालको कोभिड अस्पतालमा उपचार भइरहेको छ । अहिलेसम्म उनको अबस्था सामान्य रहेको छ । सो अस्पतालमा संक्रमितहरु दुखले बसेको अध्यक्ष राजवंशीले बताए । १८ जना संक्रमितका लागि एउटै शौचालय,खानेपानीको अभाव, खान, बस्न र सुत्न समस्या देखिएको उनले गुनासो गरे । ‘बाह्रदशीका संक्रमितले अस्पतालमा बस्न नसक्ने बताइरहेका छन्’ उनले भने,‘ मैले त्यसबारे प्रदेशका सामाजिक विकास मन्त्रीलाई पटकपटक भनिसकेँ । ’ तर, अहिलेसम्म सुनुवाई नभएको उनले गुनासो गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्