झापा , वैशाख २५ । कोरोना भाइरसका कारण प्रभावित माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज गर्नुपर्ने माग सांसदहरुले गरेका छन् ।

फाइल तस्वीर

नयाँ शिक्षा नीति बनिसकेपछि पनि एसईईलाई एसएलसी जस्तै महत्व दिएर परम्परागत ढंगबाट सञ्चालन गर्न नहुने सांसदहरुको भनाइ छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा सांसदहरुले एसईई परीक्षाको अवधारणा परिवर्तन गर्ने अवसर अहिले मिलेको उल्लेख गर्दै नयाँ शिक्षा नीति अनुसार अगाडि बढ्नुपर्ने बताए ।
सांसद गगनकुमार थापाले एसईई परीक्षा खारेज गर्नुपर्ने बताए । कोरोना भाइरस संक्रमणले एसईई खारेजी मौका मिलेको र यसको प्रयोग गर्नुपर्ने उनले बताए । थापाले भने , ‘यो मौका हो । एसर्ईई परीक्षालाई खारेज गरौँ । आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीलाई कक्षा ११ मा लिएर जाउँ । बोर्ड परीक्षा भनेको १२ को हो ।’

सांसदहरुले शिक्षा नीति र ऐन नयाँ बनेपनि एसईई परम्परागत ढंगबाट सञ्चालनमा रहेको छ । अहिलेको परिस्थितिले अवसर प्रदान गरेको उल्लेख गर्दै उनले नयाँ शिक्षा नीति र ऐन अनुसार यसलाई नयाँ ढंगले अगाडि बढाउनुपर्ने बताए । सरकारले निर्णय गरेर नीतिगत रुपमै एसईई खारेज गर्नु पर्ने उनको माग छ । सांसद भैरवबहादुर सिंहले एसईई परीक्षा पहिलेको एसएलसीजस्तो बोर्ड परीक्षा नभएर माध्यमिक परीक्षा मात्रै भएकाले कक्षा ९ को जस्तो परीक्षाको ढाँचामा लिएर जानुपर्ने बताए । सांसद अञ्जना विशंखेले एक वर्षलाई मात्रै परीक्षा नगर्दा विद्यार्थी र अभिभावकहरुमा नकारात्मक असर पर्ने भएकाले योजना नै बनाएर एसईईको स्वरुप नै परिवर्तन गर्नुपर्ने बताइन् । समितिले विद्यालयलाई शूल्क नलिन,परीक्षा नगराउन , विद्यार्थी भर्ना र औपचारिक पठनपाठन नगराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्