मेचीनगर , जेठ २ । मेचीनगर नगरपालिकाले नगरका विभिन्न क्षेत्रमा कार्यरत एक हजारबढी मजदुरलाई राहत वितरण गरेको छ ।

नगरपालिकाले मेची बस व्यवसायी प्रालिमा आवद्घ चालक परिचालक र सहचालक गरी कुल ७ सय ६९, ढुवानीतर्फ लोड अनलोडका ५१, ट्राभलमा कार्यरत १५, होटलमा कार्यरत १ सय ६५ र विभिन्न मजदुर संघसंस्थामा आवद्घ १ सय ८७ गरी कुल १ हजार १ सय ८७ जनालाई प्रतिव्यक्ति १०÷१० केजी चामल वितरण गरेको मेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले जानकारी दिए । राहत वितरण कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीले अहिले देश विषम् परिस्थितिबाट गुज्रिरहेका बेला आमजनता एक भएर नोवल कोरोना भाइरसमाथि विजयी प्राप्तिका लागि लाग्नुपर्ने बताए ।

मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले अहिले हरेक नागरिक सचेत हुनुपर्नेमा जोड दिए । उपप्रमुख मीना पोखरेल उप्रेतीले लकडाउनका कारण उद्योग, कलकारखना, पसल व्यवसायलगायत सवै क्षेत्र ठप्प भएका कारण त्यसमा कार्यरत मजदुर र लगानी गर्ने मालिकहरुको दैनिकी समेत कष्टकर भएको र आर्थिकरुपमा समेत ठूलो व्ययभार व्यहोर्नु परेको विचार राखिन् ।
कोरोना भाईरसको रोकथाम र नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण विशेषगरी मजदुरहरुलाई कठिनाई भएको भन्दैं नगरपालिकाले राहत वितरण गरेको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्