राजेन्द्र गौतम, महाभारा झोडा । हुलाकी राजमार्ग अन्तरगतको माइखोलामा निर्माणाधीन पुल दक्षिण खोलालाई साविक प्रवाहमा बगाउन थालिएको छ ।

करिब एक किलोमिटर क्षेत्रमा पानी बग्ने ड्रेन निर्माणपश्चात् माइलाई साविक प्रवाहमा बगाइएको हो । नेपाली कांग्रेसका नेता देउमान थेवेले साविकमा पानी बगाउने कार्यको खोलाको मुहान खोलेर सुरु गरेका हुन् । साविक महाभाराको झोडा पूर्वमा खोलालाई साविकबाट बगाउन धमाधम काम भइरहेको छ । प्राविधिक जनशक्तिसहित दुईवटा स्काभेटर एकसाता अघिदेखि त्यहाँ परिचालित छन् । प्राविधिक र इन्जिनियरको योजनाअनुसार खोलालाई साविकमा बगाउन थालिएको नेता थेवेको भनाइ छ । उनले लकडाउनको अवस्थामा पनि भौतिक दुरी कायम गरेर काम जारी राखेको बताए ।

‘अहिले विश्व नै कोरोनाको त्रासमा छ,बर्खा लाग्नासाथ यहाँ अर्को त्रास थपिन्छ ’उनले भने,‘ स्थानीय उपभोक्ता, महाभारा, कोरोबारी, कुमरखोद र जनताको तटबन्ध कार्यक्रमसहित मिलेर काम भइरहेको छ,यो सम्भावित जोखिम रोक्ने सहकार्यको नमूना नै हो ।’ थेवेले आफू उपभोक्ता, आफ्नो निर्वाचन क्षेत्र र यहीको नागरिकको हैसियतमा तटबन्ध गर्ने कार्यमा निरन्तर लागि परेको बताए । उनले खोलो पूर्व पसे त्यस क्षेत्रको सबै संरचना, सेतुमाडी प्रावि,सुनगञ्ज,सालमारा र लसुना प्रावि समेत बगाउने र भारतको डिघलबैंकतर्फ खोलो जाने सम्भावना देखिएकाले खोलालाई बीचैबीच बगाउने प्रयास भइरहेको बताए । उनले भने,‘ झापा गाउँपालिकातर्फको क्षेत्रमा ढुङ्गाको तार जाली र माटोको काम भइरहेको छ,प्राविधिकले दिएको सल्लाहअनुसार नै खोलो बीचबाट बगाइएको हो ।’ सबै मिलेर खोलालाई साविक प्रवाहमा बगाउनुको विकल्प नभएको थेवेको तर्क छ । सो काम जनताको तटबन्ध कार्यक्रमअन्तर्गत भएको झापा गाउँपालिका— १ का वडाध्यक्ष राजकुमार यादवले बताए । उनले साविक कुमरखोदका ८१ घर परिवारलाई जोगाउन खोलालाई बीच भागबाट बगाउने काम भएको बताए । यादवले कुमरखोदको साविक तीनवटा वडालाई जोगाउने चुनौती रहेको र मिलनबस्ती नजिक तटबन्ध गर्ने कार्यसमेत भइरहेको बताए । गत वर्ष त्यहाँ हजार बिघा बढी जग्गा माइले कटान गरेको र विगत वर्षहरुमा १० जना बढीले ज्यान गुमाउनु परेकोले यसपटक खोलालाई बीचबाट बगाउने काम गरेको उनले जानकारी दिए । खोलालाई बीचबाट बगाउनेसँगै झोडाको पूर्वी बस्ती अगाडि पाँच सय मिटर र त्यसदेखि दक्षिण प्रकोपाइनको काम भइरहेको स्थानीय बिनोद योङ्याले बताए । सो प्रकोपाइनले झोडाको पूर्व टोल र दक्षिणतर्फको बस्ती जोगाउन सकिने अपेक्षा गरिएको छ । माइलाई बीचैबीच बगाउन त्यस क्षेत्रमा काम भइरहेको छ । काम सकिएपछि मात्रै के कति रकम बराबरको काम भयो यकिन हुने खोलालाई बीच भागबाट बगाउन लागिपरेकाहरु बताउँछन् ।

गौरीगञ्ज — १ का वडाध्यक्ष कात्तिकलाल राजवंशीले साविक महाभारा तीनवटा खोलाको चपेटामा रहेको बताए । उनले अहिले माइमा भइरहेको कामले साविक महाभारा — ५ को केही भागमा राहत हुनसक्ने बताए । उनले आफ्नो वडा त्रिकोणात्मक अवस्थामा रहेकोले हरेक बर्खामा समस्या हुने बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्