झापा, जेठ ५ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भारतमा झन् बढ्दै गएको छ । त्यहाँ आइतबार एकैदिनमा हालसम्मकै बढी ५ हजार नयाँ संक्रमित थपिएका छन् ।

यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९५ हजार ६९८ पुगेको वल्डोमिटर्सको तथ्यांकले देखाएको छ । जसमा आइतबार मात्र ५ हजार ५० नयाँ संक्रमित फेला परेका छन् ।
भारतले शुक्रबारबाटै कोरोना संक्रमणको सुरुवाती केन्द्र चीनलाइ उछिनेको थियो । शनिबार पनि भारतमा ४ हजार ८६४ नयाँ संक्रमित थपिएका थिए भने शुक्रबार ३ हजार ७ सय ८७ नयाँ संक्रमित थपिएका थिए । भारतमा हालसम्म कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३ हजार २५ पुगेको छ । त्यहाँ आइतबार मात्र कोरोना संक्रमणबाट १५४ को ज्यान गएको छ । शनिबार ११८ को ज्यान गएको थियो भने शुक्रबार त्यहाँ १०४ जनाको मृत्यु भएको थियो । संक्रमितमध्ये भारतमा ३६ हजारभन्दा बढी मानिस उपचारपछि निको भएर घर फिर्किएका छन् ।

भारतमा अहिले ५५ हजार ८ सयभन्दा बढीमा कोरोना भाइरस सक्रिय छ । उनीहरु उपचाररत छन् ।भारतमा कोरोना संक्रमण व्यापक बन्दै गएसँगै भारत सरकारले पुनः लकडाउनको अवधि २ सातासम्म बढाएको छ । भारतको गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकडाउनलाई ३१ मेसम्म जारी राख्ने निर्णय गरेको छ । यससँगै नेपालमा पनि खतरा बढेको छ । नेपालमा पछिल्लो समय देखिएका अधिकांश कोरोना बिरामी कुनै न कुनै रूपले भारतसँग सम्बन्धित छन् ।नेपालसँग खुला सीमाना भएका कारण भारतबाट लुकिछिपी आउनेहरुका कारण कोरोना संक्रमणको खतरा बढेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्