राजेन्द्र गौतम, वैशाख ५ । पूर्वीनाकाको सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई झापा ल्याउने सर्वपक्षीय योजना असफल भएको छ ।

सुनसान मेची पुल

भारतीय पक्षले संघीय सरकारले अनुमति नदिएको भन्दै पन्छिएपछि नेपाली पक्षको भित्री योजना असफल भएको हो । सिमावर्ती भारतीय बजार पानीट्याङ्कीलगायतका स्थानमा नेपाली अलपत्र परेपछि नेपाली पक्षले उनीहरूलाई झापा ल्याउन चाहेको थियोे । झापाका पाँचवटा होल्डिङ एरियामा राख्ने योजना अनुसार एक हजारबढी नेपाली नागरिकलाई स्वदेश ल्याउने तयारी गरिएको थियो । प्रवेश — १ का गृह तथा कानुनमन्त्री हिक्मत कार्कीको उपस्थितिमा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला स्थिति राजनीतिक दल , प्रहरी प्रशासन र रेडक्रस अलपत्र नेपाली ल्याउन लागि परेका थिए । तर,भारतीय पक्षले अन्तिम समयमा आएर भित्री सहमतिबाट पछि सरेको हो । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले दुई देशका सरकारबीच सहमति नभएसम्म कसैलाई पनि फर्काउन नसकिने बताए । उनले भारतको दार्जिलिङ जिल्लाका डिएमसँग समन्वय गरेर अलपत्र नेपाली स्वदेश ल्याउने प्रयास भएपनि त्यो असफल भएको बताए । सो विषयमा आवश्यकताभन्दा बढी चर्चा भएकाले पनि योजना असफल भएको उनले घुमाउरो प्रतिक्रिया दिए । जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोम पोर्तेलले आफूहरूले इमान्दारीपूर्वक प्रयास गरेपनि भारतीय पक्षले कमजोरी गरेको आरोप लगाए ।

झापाका प्रजिअ र दार्जिलिङका डिएम, झापाको सशस्त्र प्रहरी र भारतीय सुरक्षा बल एसएसबीको नेतृत्वबीच नेपाली ल्याउने सहमति जुटेको अध्यक्ष पोर्तेलले दाबी गरे । ‘दुई देशका समकक्षी प्रशासक र सुरक्षा निकाय बीच सहमति भएको हो ’ उनले भने,‘ तर अन्तिम समयमा भारतीय पक्ष अडानबाट पछि हट्यो, त्यसैले योजना सफल भएन । ’ तर झापाका प्रजिअ रानाले अध्यक्ष पोर्तेलले दाबी गरेजस्तो सहमति नभएको दोहोर्याए । नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले भारतीय पक्ष हिचकिचाएको जनाए । उनले भने,‘ हामीले आवश्यक र पूर्ण तयारीका साथ अलपत्र नेपालीको उद्दार गर्ने योजना बनाएका थियौ ।’ झापाको भद्रपुरमा ३९०, बिर्तामोडमा ३१०, दमकमा २१०, मेचीनगरमा १५० र शनिश्चरेमा ५० जनालाई होल्डिङ एरियामा राख्ने तयारी गरिएको थियोे । दुई देशका सरकारबीच नागरिकलाई रहेकै स्थानमा सुरक्षित राख्ने सहमति भएको छ । ल्याउन पनि दुवै देशका सरकारको अनुमति चाहिन्छ । त्यो कुरा नाघेर अघि बढ्दा जिल्ला र प्रदेश तहको योजना असफल भएको हो । नेपाली पक्षले अलपत्र नेपाली झापा ल्याउन आफूहरु पछि नहटेको जनाएको छ । मेची अभियानले खाना खुवाउने, सीमामा ज्वरो नाप्ने र होल्डिङ एरियाबाट उनीहरुको स्वाब संकालन गर्ने र परीक्षणपछि घर पठाउने योजनाका साथ एक हजारबढी नेपालीलाई झापा ल्याउन लागिएको थियोे । सो तयारीका लागि झापामा पटक—पटक बैठक बसेको थियो । लकडाउन सुरु भएदेखि नै भारतीय सीमावर्ती बजार सिलिगुडी, नक्साल, पानीट्याङ्की, खोरीबारी, गलगलिया , ठाकुरगञ्ज, दिघलबैक, पाल्सा, डाकुपाडा,फत्तेपुरलगायतका स्थान, पार्टीपौवा र आफन्तलगायतका ठाउँमा पाँच हजारबढी नेपाली कष्टकर जीवन बिताइरहेका छन् । उनीहरू अधिकांश पश्चिम नेपालबाट भारतका विभिन्न स्थानमा मजदुरी गर्न गएका मानिस हुन् । उद्दारका लागि बारबार आग्रह गरेपछि उनीहरुको नाम संकलन गरिएको मेची अभियानका संयोजक विजय डालमियाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्