शिवसताक्षी ,जेठ ६। लामो समयको लकडाउनका कारण भारतको विभिन्न ठाँउमा अप्ठेरोमा परेका नेपालीका लागि सीमासंग जोडिएको झापामा होल्डिङ एरिया निर्माण हुन थालेको छ । झापाको शिवसताक्षी नगरमा पनि बढीमा १ सय ५० का लागि होल्डिङ एरिया निर्माण हुने भएको हो ।

दुधेस्थित राष्ट्रिय रमणीय आदर्श माद्यमिक विद्यालयको पूर्वाधारयुक्त भवनलाई होल्डिङ एरिया निर्माण गर्न लागिएको शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले बताए ।
शिवसताक्षी नगरकार्यपालिकाको सोमबार बसेको बैठकले दुधेको उक्त सामुदायिक विद्यालयलाई होल्डिङ एरिया निर्माणका लागि निर्णय गरेको थियो । मंगलबार नगरस्तरीय सर्वदलीय समन्वय समितिले नगरपालिकाको निर्णयलाई ऐक्यबद्धता जनाएपछि होल्डिङ एरिया तय भएको हो । नगर प्रमुख शेर्माका अनुसार सुरक्षित एरिया र पूर्वाधार सम्पन्न भवन रहेको स्थानलाई होल्डिङ एरियाको रुपमा प्रयोगमा ल्याइन लागिएको हो ।
बैठकमा नेकपाका डिल्लीरमण खतिवडा, नेपाली कांग्रेसका पर्शुराम ढुँगाना, संघिय समाजवादीका जापान थेवे, लिम्बुवानका प्रकाश लिङदेन, राष्ट्रिय जनमुक्ति पार्टीका झापा अध्यक्ष भवानीविक्रम सेलिङ, राप्रपाका मणी खपतरी खड्का, उद्योग बाणिज्य संघका शिवसताक्षी अध्यक्ष भोला मैनाली सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक अशोककुमार साक्य, इलाका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कोमल ठाकुर लगायतको सहभागिता थियो ।

भारतबाट आएकाहरुलाई तत्काल होल्ड गरेर सुरक्षित साथ राखिने र स्वास्थ्य चेकजाँच गरी आवश्यकता अनुरुपको अन्य प्रकृयामा जाने गरी व्यवस्था मिलाइएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । भारतबाट आएका नेपालीलाई गन्तव्य सम्म पुर्याउनका लागि होल्डिङ एरिया स्थापना गरेको झापाका प्रमुख जिल्ला अधिकारी उदयवहादुर रानाले बताए । उनले सीमा र होल्डिङ एरियामा सुरक्षा सतर्कता समेत बढाइएको बताएका छन् ।
झापाका प्रहरी प्रमुख कृष्ण कोइरालाले भारतबाट आएका नेपालीलाई फिल्टर गरेर होल्डिङ एरियामा राखिने बताए । उनका अनुसार जिल्लाका मेचीनगर, भद्रपुर, बिर्तामोड, शिवसताक्षीलगायतका पालिकामा होल्डिङ एरिया स्थापना भएका छन् । ‘बढीमा ३ दिनसम्म भारतबाट आएकालाई होल्डिङ एरियामा राखिने छ । त्यसपछि यातायात लगायतका अन्य आवश्यक व्यवस्था गरेर उनीहरुको गृहपालिकासम्म पुर्याउने गरिन्छ ।’ उनले भने ।
काँकडभिट्टा नाका हँुदै झापाका होल्डिङ एरियामा १ हजार ५० जनालाई राखिने भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्