झापा, जेठ ९। कोरोना भाइरस संक्रमण बढ्दै गएपछि त्यसलाई रोक्न झापाका पालिकाहरुले आआफ्ना क्षेत्र सिल गर्न थालेका छन् ।

बिर्तामोड नगरपालिकाको सूचना

दक्षिणी सिमावर्ती कचनकवल गाउँपालिकामा मात्र ३३ जना गरी झापामा हालसम्म ३५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि बिर्तामोड नगरपालिकाले आजदेखि पसल पूर्णरुपमा बन्द गरेको छ । नगरपालिकाले औषधि, दुग्ध र कृषिजन्य वस्तुको व्यवसाय खुला गरेर बाँकी सबै किसिमका पसल बन्द गरेको हो । त्यस्तै बिर्तामोड प्रवेश गर्ने सबै नाका बन्द गरिएको नगर प्रमुख धु्रबकुमार शिवाकोटीले जनाएका छन् । यसअघि निश्चित समयका लागि खुल्ला गरिएका अति आबश्यक खाद्यान्न पसललाई आजदेखि बिर्तामोडमा बन्द गरिएको छ । घुम्ती तरकारी पसललाई बिक्री गर्न दिइने नगर प्रमुख शिवाकोटीले सूचनामा उल्लेख गरेका छन् ।

हल्दिबारी गाउँपालिकाको सूचना

त्यस्तै आजबाट लागू हुने गरी हल्दिबारी गाउँपालिका प्रवेश गर्ने सबै नाका बन्द गरिएको हल्दिबारी गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले जानकारी दिएका छन् ।गाउँ कार्यपालिकाको कार्यालयले सूचना जारी गरी छिमेकी पालिकाहरुमा ठूलो संख्यामा कोरोना भाइरस संक्रमित व्यक्तिहरु फेला परेको र सो क्रम बढ्दै गइरहेको हुँदा त्यसको प्रत्यक्ष अप्रत्यक्ष असर यस गाउँपालिकामा समेत पर्ने भएकाले सावधानी नअपनाएको खण्डमा यस गाउँपालिकामा पनि संक्रमण फैलन सक्ने मध्यनजर गर्दै अन्य स्थानीय तहबाट हल्दिबारी गाउँपालिका प्रवेश गर्ने सबै नाकाहरु अर्को सूचना जारी नहुन्जेलसम्मका लागि बन्द गरिएको जनाएको छ । करिव दुई महिना लामो लकडाउनका कारण अभावग्रस्त सर्वसाधारण र व्यवसायीलाई अनिश्चित समयका लागि गरिएको यस्तो सिलले झन् अप्ठ्यारोमा पार्ने भन्दै उनीहरुले चिन्ता गरेका छन् ।मेची उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष विजय डालमियाले सिल गर्नु पर्ने खासै कारण अहिले नै झापामा नआएको भन्दै सिल गर्नु परे निश्चित संक्रमित क्षेत्रलाई मात्र गरिनु पर्ने सुझाव दिएका छन् । उनले सामाजिक संजालमा लेखेका छन्‘ अहिले सिल केको लागि भनेर प्रश्न गर्दा भीड बढी भयो अलि तर्साउन भनेर उत्तर आउँछ, तर्साउनको लागि मात्र सिल गर्ने हो भने यो सनकमा गरेको निर्णय भने हुन्छ , होइन भने सिल गरेपछि तुरुन्त परीक्षण गरिनु पर्छ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्