गौरादह , जेठ ९ । संग्रहालय, पुस्तकालय र बगैँचासहितको वीपी स्मृति भवनको निर्माण कार्य सुरु भएको छ ।

प्रजातन्त्र सेनानी डिल्ली सेडाईंले शिलान्यास गरेसँगै भवनको निर्माण प्रारम्भ भएको हो । भवन ४४ लाख रुपैयाँ खर्चेर निर्माण गरिने निर्माण समितिका अध्यक्ष दीर्घसिंह सुवेदीले बताए । दशैँअघि २० लाख बराबरको काम हुने र बाँकी काम दशैँपछि गरिने छ । लोकतन्त्र पक्षधर भगीरथ राजवंशी र मीना राजवंशीले उपलब्ध गराएको २ कठ्ठा ५ धुर र गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहले निःशुल्क उपलब्ध गराएको १ कठ्ठा गरी ३ कठ्ठा ५ धुर जग्गामा भवन निर्माण सुरु भएको हो ।
गौरादह — २ मा निर्माण सुरु भएको भवन तीनसय जना अट्ने सेमिनार हल, बरण्डा र कार्यालय सञ्चालनका लागि २ कोठासहितको हुने छ । भवन शिलान्यास कार्यक्रममा नेपाली कांग्रेस झापा सभापति उद्घब थापाले भिडियो कलमार्फत् शुभकामना दिएको गिरिजाप्रसाद कोइराला फाउन्डेसन झापाका सचिव महेन्द्र भट्टराईले जानकारी दिए ।

भवन शिलान्यास कार्यक्रममा झापा कांग्रेसका ५ नम्बर क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, सहसभापति समेत रहेका प्रमुख साह , पूर्व सभापति शेरबहादुर भट्टराई, प्रतिनिधिसभाका उम्मेद्वार डा.खगेन्द्र अधिकारी, गौरादह कांग्रेस सभापति यादवराज सेडाईं, महिला संघ, नेविसंघ , तरुण दल, पार्टीका महासमिति, महाधिवेशन,उद्योग बाणिज्य संघ लगायत शुभेच्छुक संघसंस्था र पार्टी प्रतिनिधिको बाक्लो उपस्थिति रहेको थियो । पण्डित दुर्गाप्रसाद दाहालले स्वस्तीवाचन गरी भवन शिलान्यासको साइत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्