काँकरभिट्टा,जेठ १० । भारतबाट आउने नेपालीका कारण मेचीनगर उच्च जोखिममा रहेको भन्दै आवश्यक सामग्रीका साथ व्यवस्थित तयारी गरिदिन नगरपालिकाले प्रदेश सरकारसँग आग्रह गरेको छ ।

कोरोना भाइरसको संक्रमण रोेकथामका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण नेपाल— भारत सीमाक्षेत्रमा अलपत्र नेपाली धमाधम काँकरभिट्टा नाका भएर नेपाल आउन थालेका छन् । काँकरभिट्टा नाकाबाट ४ दिनमै एक हजार नेपाली नेपाल भित्रिसकेका छन् ।
शुक्रबार भित्रिएकामध्ये ६ महिलासहित १५ जनाको आरडीटी टेष्टमा पोजेटिभ आएको छ । नगरमा व्यवस्थित क्वारेन्टाइन नभएकाले पीसीआर लगायतका परीक्षणका लागि मेची बहुमुखी क्याम्पस भद्रपुर र यसअघि पनि केही नेपालीहरुलाई दमकको क्वारेन्टाइनमा पठाइएको नगरपालिकाले जनाएको छ । भारतबाट नेपालीहरु आउने क्रम जारी छ । शनिवार मात्रै पनि मेची पुलमा १५० भन्दाबढी नेपालीहरु आएर बसेको नगरपालिकाले जनाएको छ ।
शनिबार नगरपालिकाको सभाकक्षमा आयेजित पत्रकार सम्मेलनमा मेचीनगर प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेतीले यस्तो आग्रह गरेका हुन् । नगर प्रमुख आचार्यले कोरोना भाईरसको संक्रमण फैलिन नदिन र नेपाल— भारत सीमामा अलपत्र नेपालीहरुको व्यवस्थापनमा नगर सरकार शुरुदेखि नै लागिपरेको बताए ।

पश्चिम बंगालका विभिन्न क्वारेन्टाइनमा नेपालीहरु अव्यवस्थित रुपमा बस्नुपरेको चर्चा गर्दै नगरप्रमुख आचार्यले आफ्नो देश फर्कन पाउनुपर्ने हरेक नागरिकको अधिकार भएपनि ल्याउन र व्यवस्थापन गर्न चुनौतिपूर्ण बनेको बताए । उपप्रमुख उप्रेतीले नगरपालिकाले शुरुमा आदर्श मावि, धाइजनको स्वास्थ्य केन्द्र, पशुपति मावि, सरस्वती माविमा क्वारेन्टाइनको व्यवस्था गरेको भएपनि पछिल्लो समय नगरका १५ वटै वडामा क्वारेन्टाइनको व्यवस्था मिलाएको बताइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्