काँकरभिट्टा, जेठ ११ ।कोरोना भाइरस नियन्त्रणका लागि मेचीनगर नगरपालिकाले गठन गरेको कोरोना भाइरस नियन्त्रण विशेष कार्यदलका दुई जना सदस्यले आज संयुक्त राजिनामा दिएका छन ।

नगरप्रमुखको नेतृत्वमा रहेको उक्त कार्यदलका सदस्यहरु सन्तोष आचार्य र ज्ञानेन्द्र निरौलाले आज संयुक्तरुपमा राजिनामा दिएका हुन् । आचार्य र निरौलाले नगरपालिका कार्यालयमा राजिनामा पत्र बुझाएपछि संयुक्त प्रेस बिज्ञप्तिमार्फत् राजिनामा दिएको जानकारी गराएका छन ।
कोरोना भाइरसको विश्वप्यापी संक्रमणको अवस्थाबाट नगरबासीलाई सुरक्षित राख्ने कार्ययोजनासहित बनेको कार्यदलमा बसेर काम गर्ने वातावरण नभएकाले राजिनामा दिनु परेको पत्रकार समेत रहेका आचार्य र निरौलाले जनाएका छन् ।

संकटको सामना गर्न नागरिकको सुरक्षाका लागि व्यवस्थित क्वारेन्टाइन बनाउनु पर्ने, आइसोलेशन वार्ड निर्माण गर्नु पर्ने, भारतीय सीमामा रहेका नेपालीलाई ल्याउँदा अपनाउनु पर्ने न्युनतम् स्वास्थ्य सुरक्षा विधि अपनाउनु पर्ने, फ्रन्टलाईनमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारीहरुलाई पर्याप्त स्वास्थ्य सामग्री उपलब्ध गराउनु पर्ने, रोगको संक्रमण देखिएको अवस्थामा आइपर्ने आपतकालीन सुविधाको पूर्वतयारी गर्नु पर्ने, आफ्ना नागरिकलाई ढुक्क हुने वातावरण बनाउनु पर्ने जस्ता सुझावलाई बेवास्ता गर्दै कार्यदलको बैठकमा छलफलै नभएका विषयहरु निर्णय भएको भन्दै मनोपोली कार्य गर्ने क्रम निरन्तर बढिरहेपछि कार्यदलमा बसेर काम गर्ने अवस्था नभएकाले राजिनामा गर्नु परेको पत्रकार महासंघ झापाका सचिव समेत रहनु भएका आचार्यले बताए । मेचीनगरका मुख्य राजनीतिक दलका नगर नेतृत्वसहित १५ सदस्यीय रहेको कार्यदल नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कार्यदलका सदस्य तथा मेची अभियानका संयोजक बिजय डालमियाले यस अघि नै राजिनामा दिइसकेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्