झापा, जेठ १३ । बिर्तामोडमा आयोजित एक अन्तरक्रियाका सहभागीले विपद्का बेला सञ्चारमाध्यमहरुले विपद् व्यवस्थापनका लागि सहयोगी भूमिका निर्वाह गर्दै सकारात्मक सन्देश प्रवाह गर्ने समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल प्रेस युनियनको २९ औं स्थापना दिवसको अवसर पारेर नेपाल प्रेस युनियन झापा शाखाद्वारा आयोजित विपद्मा सञ्चारमाध्यमको भूमिका विषयक कार्यक्रमका सहभागीहरुले कोरोना संक्रमणका कारण उत्पन्न हुने आर्थिक संकटका कारण सानो लगानीका स्वरोजगारमुलक संचार संस्था संचालन र व्यवस्थापनमा कठिनाई उत्पन्न हुने धारणा राखेका छन् । कार्यक्रमका बक्ताहरुले सीमा क्षेत्रमा अलपत्र नेपालीको उद्धार गरिएपनि उनीहरुको स्वास्थ्य परीक्षणका लागि पिसिआर किट अभाव रहेको बताएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस झापाका सभापति तथा प्रमुख अतिथि उद्धव थापाले लोकतान्त्रिक मूल्य, मान्यता र संविधानविपरित कार्य गरिरहेको सरकारका गतिविधिविरुद्ध प्रेसले दरिलो प्रतिपक्षको भूमिका खेलेको भन्दै प्रशंसा गरे ।राजनीतिक दल र प्रेसको भूमिका नङ र मासुको जस्तै रहेको बताउँदै उनले विपद्को यस घडीमा मानवीय संवेदनामा सकारात्मक प्रभाव पर्ने खालका समाचारहरु सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गरे ।
एक अर्को फरक प्रसङ्गमा नेपाल सरकारले जारी गरेको नयाँ नक्सा मौलिक र ऐतिहासिक नक्सा भएको चर्चा गर्दै नेपालकै भूमिमा रहेका भारतीय सेनालाई हटाउन सरकारलाई आग्रह गरे । ‘कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालकै भूमि हो, त्यसलाई फिर्ता ल्याउने भन्ने भनाइ गलत छ, त्यहाँ रहेका भारतीय सेना हटाउनु पर्छ । उक्त भुमि हिजो हाम्रो थियो, भोली पनि हाम्रो हो ।’उनले भने ।
विपद तथा महामारीमा सञ्चारको भूमिकाका विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपाल प्रेस युनियन झापाका पूर्व केन्द्रीय सदस्य लोकराज ढकालले विपद् के हो ? विपद्का चरणहरु, आपतकाल, प्रतिकार्य, राहत, पुनर्लाभ, पुनस्र्थापना, पूर्वतयारी, विपद् जोखिम व्यवस्थापन, विपद् जोखिममा नेपालका अवस्था, विगतका विपद्हरु, विपद् प्रतिकार्यमा सञ्चारमाध्यम, विपद् व्यवस्थापनका चरण, पूर्वसूचना प्रणाली र विपद्मा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रको भूमिकाका बारेमा जानकारी दिएका थिए ।अन्तरक्रियामा कोरोना संक्रमणले संचार संस्था सञ्चालन व्यवस्थापनमा आउन सक्ने समस्याका विषयमा प्रस्तुति राख्दै नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटाले प्रविधि र ग्लोवलाइजेसनले परम्परागत सञ्चारमाध्यमहरु संकटमा पर्दै गएको बताए । कार्यक्रममा नेपाल प्रेस संगठनका अध्यक्ष मुक्ति पौडेलले पनि शुभकामना मन्तब्य राखेका थिए ।
नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व केन्द्रीय सदस्य कृष्ण हुमागाईले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव डिल्लीराम घोर्साईले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्