झापा, जेठ १४ । ३३ जनामा कोरोना संक्रमण देखिएको झापा कचनकवलका १६५ जनाको पिसिआर रिपोर्ट आज आउने भएको छ ।

महेन्द्र रत्न मावि केचनाको क्वारेन्टाइनमा रहेका ९९ ,सुरक्षाकर्मी २०, पथरीया माविको क्वारेन्टाइनमा रहेका ३३ र जनप्रतिनिधि ११ गरी १६५ जनाको रिपोर्ट आज आउने कचनकवल गाउँपालिकाका प्रवक्ता लक्ष्मी यादवले बताए । यसअघि पथरीया माविका ३३ र लक्ष्मीप्रसाद देवकोटा आधारभूत विद्यालयका ६५ गरी ९८ जनाको थ्रोट स्वाब संकलन गरी पठाउँदा ३३ जनामा कोरोना पाजिटिभ देखिएको थियो । उनले अहिले बुद्ध आधारभूत विद्यालयमा ३१, पथरीया माविमा २४, महेन्द्र रत्न माविमा ९९, जानकी आधारभूत विद्यालयमा ४८, लक्ष्मी माविमा ५६ र लक्ष्मीप्रसाद देवकोटा आधारभूत विद्यालयमा ६८ जना क्वारेन्टाइनमा रहेको जानकारी दिए । हालसम्म ३५० जना भन्दाबढी भारतबाट कचनकवलमा आएको कचनकवल—१ का वडाध्यक्षसमेत रहेका यादवले बताए । कचनकवलका करीव ५ हजार मानिस भारतको विभिन्न शहरमा काम गर्न गएको अनुमान गरिएको छ । भारतमा रेल चल्न थालेसँगै ती मानिसहरु घर फर्किने क्रम जारी छ । कचनकवलबाट काम गर्न भारत गएका सबै नागरिकहरु सम्पर्कमा नआएको गाउँपालिका अध्यक्ष अन्जार आलमले बताए । उनले सम्पर्क गरी सीमासम्म आउने आफ्ना नागरिकलाई घर फर्काउने क्रम जारी रहने जनाए ।

त्यस्तै झापा गाउँपालिका ४ का एक ब्यक्तिमा कोरोना संक्रमण देखिएपछि आशंकित ९१ जनाको थ्रोट स्वाब परीक्षणका लागि पठाइएको छ । त्यसको रिपोर्ट भोलिसम्म आइपुग्ने गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले जनाएको छ ।त्यस्तै बाह्रदशी ३ का एक ४५ वर्षिय ब्यक्तिमा संक्रमण देखिएपछि उनको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरिदैछ । संक्रमितको सम्पर्कमा आएकाहरु परिवारका सदस्य र आफन्त गरी करीव १० जनाको कन्ट्याक्ट ट्रेसिङ गर्न लागिएको बाह्रदशी ३ का वडाध्यक्ष विरेन्द्र राजवंशीले बताए । उनले अग्रपंक्तिमा रहेर काम गर्दै आएका ७ जना जनप्रतिनिधिहरुको पनि आरडिटि र पिसिआर टेष्ट गर्न लागिएको जानकारी दिए । झापामा कचनकवलका ३३, बाह्रदशीका २ , झापा गाउँपालिका र दमक नगरपमलिकाका १—१ गरी ३७ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्