जेठ, १८ । झापाको गौरीगञ्ज गाउँपालिकाका चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा चारजनामा संक्रमण पुष्टि भएको हो ।
आइतबार चार जनामा कोरोना संक्रमण पुष्टि भएसँगै झापामा संक्रमितको संख्या११२ पुगेको छ ।
गौरीगञ्ज गाउँपालिका – ६ मा रहेको प्राथमिक स्वास्थ्य चौकीको क्वारेन्टाइनमा रहेका ५१ मध्ये चार जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी दिए ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १६५ पुगेको छ । झापाको कचनकवल गाउँपालिकामा मात्रै एक सय जनामा कोरोना पुष्टि भएको छ । झापाको गौरादह नगरपालिका –९ मा दुई जना, झापा गाउँपालिकामा एक, बाह्रदशी गाउँपालिकामा दुई, दमक र भद्रपुर नगरपालिकामा एकर एक जनामा कोरोना पुष्टि भएको छ । त्यसमध्ये दमक र बाह्रदशीका एक जना उपचार पछि निको भएर घर फर्किएका छन् ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले झापाका ४५ वर्षका पुरुषमा कोरोना पुष्टि भएको जानकारी दिएका थिए । यद्यपि संक्रमित व्यक्तिको ठेगाना खुल्न सकेको छैन । झापा जिल्ला स्थायी ठेगाना भएर काठमाडौंमा बस्दै आएका ब्यक्तिको काठमाडौंमै स्वाब संकलन गरी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन जीवन चौलागाईँले बताए । उनको स्थायी ठेगाना कुन पालिका हो भनेर पत्ता लगाउने प्रयास भइरहेको चौलागाईँले जानकारी दिए

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्