भद्रपुर, जेठ १८ । विवादको बहाना बनाएर कोरोना उपचार अस्पताल निर्माण अलपत्र पार्न नहुने कोभिड १९ उपचार अस्पताल विवाद समाधान समितिले ठहर गरेको छ ।

विवाद समाधान समितिले भद्रपुरस्थित मेची अस्पतालको निर्माणाधीन भवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका पदाधिकारी तथा सदस्यहरूले मेची अस्पताल सञ्चालनमा रहेको भवन जीर्ण र साँघुरो रहेको तथा निर्माणाधीन भवन निर्माणका चरणमा रहेकाले विकल्पका रूपमा रहेका भवनमध्येमा यथासिघ्र अस्पताल सञ्चालन गरिनु पर्ने माग अगाडि सारेका हुन् ।
सहभागीहरूले भद्रपुर— १० स्थित कलवलगुडी प्रशिक्षण केन्द्रको भवन, चन्द्रगढीमा रहेको खाद्य गोदाम, निर्माणाधीन गिरिजाप्रसाद स्मृति सभागृह, वा निर्माण सम्पन्नको चरणमा पुगेको भद्रपुर नगरपालिकाको नयाँ भवनमध्ये एक स्थानमा अस्पताल सञ्चालन गरिनु पर्ने माग गरेको हुन् ।
अधिकांसले भद्रपुरको विकासमा स्थानीय बाधक भन्ने भ्रम फैलाएर केही विकास विरोधी तत्वहरूले अस्पताल निर्माण कार्य ओझेलमा पारेकोप्रति आपत्ति जनाएका छन् । उनीहरूले अस्पताल बनिनु स्वागतयोग्य भएपनि भरपर्दो सुरक्षा सावधानीविना अस्पताल बनाउन नहुने समेत प्रष्ट पारेका छन् ।
भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा मनोजले सर्वपक्षीय सरोकारको विषय सरूवा रोग अस्पताल बनाउँदा प्रभावित क्षेत्रको स्थानीय जनप्रतिनिधिसित छलफल नगरेको भन्दै बैकल्पिक भवनहरूमध्येमा कोरोना अस्पताल बनाउन सक्दो सहयोग गर्ने बताए ।

प्रत्यक्ष प्रभावित क्षेत्रभित्र पर्ने भद्रपुर ५ का वडाध्यक्ष बन्धु कार्कीले विपन्नको जीवनदान केन्द्रका रूपमा रहेको मेची अस्पतालका विविध सेवा प्रभावित नहुने तथा विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारको सुरक्षित र भरपर्दो उपचार अस्पताल बनाउन विज्ञ टोलीले विश्वास दिन सक्छन् भने निर्माणाधीन भवनमा अविलम्ब अस्पताल सञ्चालन गर्न माग गरे । मेची अञ्चल अस्पताल विकास समितिका पूर्व अध्यक्ष छत्रप्रसाद अधिकारीका अनुसार कोरोना संक्रमण त्रासका कारण अस्पताल भवनको विवाद आएको नभएर निर्माणाधीन भवनको उपयोगिता केका लागि थियो भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ खोज्ने क्रममा स्थानीय विरोधमा उत्रेका हुन् । पुरानो भवन असुरक्षित भइसकेका कारण अस्पतालका विविध सेवा नयाँ भवनबाट प्रदान गर्नु पर्ने आवश्यकता सरकारी पक्षले बुझ्नु पर्ने अधिकारीको धारणा छ ।
अर्का सहभागी मेची बहुमुखी क्याम्पस सञ्चालन समितिका अध्यक्ष प्रा. डा. पृथ्वीविक्रम राईले निर्माणाधीन भवनको सम्पूर्ण काम सम्पन्न गर्न महिनौ लाग्न सक्ने अवस्थामा निर्माण सम्पन्न भएका बैकल्पिक भवनहरूमध्येमा अस्पताल बनिनु पर्ने बताए । सरोकार समितिका सदस्य गुरूप्रसाद सुवेदीले न्यूनतम पूर्वाधारसमेत नरहेको निर्माणाधीन भवनमा कोरोना उपचार अस्पताल बनाइनु हुँदैन भन्दै स्थानीयको आवाज सम्बोधन गर्न अस्पताल सिफारिस समिति नागरिक समाजले निर्माण गरेको विवाद समाधान समितिसित वार्तामा बस्नु पर्ने बताए ।
नागरिक समाजका तोया गड्तौलाले अस्पताल निर्माणका लागि कहाँबाट कति रकम आएको हो सिफारिस समितिले अविलम्ब सार्वजनिक गरेर निर्माण हुने हो कि हल्ला मात्र हो प्रष्ट्याउनु पर्ने धारणा राखे । कोरोना अस्पताल विवाद समाधान समितिका संयोजक भक्त खवासको अध्यक्षतामा सम्पन्न सम्मेलनमा अग्रज पत्रकार गोपाल गिरीले पनि बोलेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्