झापा, जेठ २० । कोरोना संक्रमित बसेको हुन सक्ने आशंका गरिएका घरमा रातो झण्डा गाडेर बिर्तामोड नगरपालिकाले नगरबासीको अपमान गरेको छ ।

नगरका २० वटा घरमा त्यस्तो झण्डा गाडिएपछि यतिबेला उक्त कार्यको चर्को विरोध भइरहेको छ । सामाजिक सद्भाव र एकता नै खलबलिने काममा स्वयं नगरपालिका उद्द्त भएको दाबी सम्बन्धित घरधनीले गरेका छन् । नगरपालिकाका २० घरमा रातो झण्डा राखिएको नगर सदस्य ढाचाराम कडरिया ( डिआर) ले बताए । पछिल्लोपटक बिर्तामोड नगरपालिका वडा नम्बर ५ को एक घरमा रातो झण्डा राखेपछि सरोकारवालाले चासो व्यक्त गरेका हुन् । खतराको संकेतका रुपमा सो वडाका दुईवटा घरमा रातो झण्डा राखिएको सदस्य कडरियाले जानकारी दिए ।
बिर्तामोड —४ को ३ घरमा रातो झण्डा राखिएको छ । विदेशबाट आएकाहरु सार्वजनिक क्वारेन्टाइनमा नगइ घरमै बसेको अवस्थामा होम क्वारेन्टाइनको संकेतका रुपमा रातो झण्डा राखिएको नगरपालिकाको प्रष्टिकरण छ ।
दुई दिनअघि भारतबाट आएका एक व्यक्ति क्वारेन्टाइनमा नगइ घरमा आएपछि संकेतका रुपमा रातो झण्डा राख्नु परेको ५ नम्बर वडा कार्यालयको जिकिर छ । नगरपालिकालाई तत्काल रातो झण्डाको विकल्प खोज्न मानवअधिकारवादीले सुझाव दिएका छन् ।
बिर्तामोड नगरपालिकामा सुरु गरेको उक्त अभियान मानव अधिकारको विश्वव्यापी सिद्धान्त र सामाजिक न्यायको दृष्टिकोणविपरीत भएको राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका केन्द्रीय सदस्य डा. रुपक खनालको भनाइ छ । उनले भिडियो कन्फ्रेन्समार्फत सामाजिक विभेद र वहिष्कारको वातावरण अन्त्य गर्न नगरपालिका नेतृत्वलाई सुझाएका छन् । मानव अधिकार सञ्जाल झापाका अध्यक्ष बिष्णु खरेलले नगरपालिकाको उक्त कार्य अन्तर्राष्ट्रिय मानव अधिकार कानुन र नेपालको संविधानमा व्यवस्था भएको मानव अधिकारसम्बन्धि हक विपरीत भएको बताए । उनले व्यक्तिगत गोपनियताको हकको रक्षा गर्न नगरपालिका चुकेको जनाए । आशंकाकै भरमा कोही पनि व्यक्ति र उसको परिवारको सदस्य विभेद र सामाजिक अपहेलनाबाट पीडित हुन नहुने संवैधानिक व्यवस्था नै छ । तर, नगरपालिकाले यसको ख्याल नै नगरी सार्वजनिक रुपमा रातो झण्डा राखेपछि त्यसको विरोध भएको हो ।भौतिक दुरी कायम गराउन, छिछिदुरदुर नगर्न,
एक अर्कामा माया र सद्भाव बाँड्दै,कोरोनाबाट बच्नु र बचाउनु पर्ने समयमा नगरपालिकाले सार्वजनिक रुपमा संकेत गरेर आफूहरुलाई मानसिक तनाव दिएको झण्डा राखिएका घरका सदस्यहरुको गुनासो छ । बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महातरा प्रसाईंले त्यसको विकल्प खोजिने बताइन् । उनले अधिकारवादीहरुसँगको छलफलमा त्यस्तो प्रतिबद्धता व्यक्त गरेकी हुन् । नियतवश रातो झण्डा नराखिएको र त्यसलाई हटाउने उनले जनाइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्