बिर्तामोड, जेठ २१ । ‘एकका लागि एक’ अभियानले झापामा कोभिड १९ को संक्रमण परीक्षण गर्न प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको छ ।

बुधबार बिर्तामोडमा बसेको अभियानका साझेदार संस्थाको बैठकले जिल्लामा पिसिआर प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए । नेपाल सरकारको सहयोग र समन्वयमा प्रयोगशाला स्थापना गरी परीक्षणको दायरा बढाउन अभियानले काम सुरु गर्ने भएको हो ।
प्रयोगशाला स्थापना गर्न करिब एक करोड १५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । त्यसका लागि अभियानले संघसंस्था र व्यक्तिलाई सहयोगको अपिल पनि गरेको सहसंयोजक विनोद बस्नेतले बताए । देशविदेशबाट अभियानलाई सहयोग प्राप्त भइरहे पनि प्रयोगशालाका लागि थप सहयोग आवश्यक भएको उनको भनाइ छ ।
झापाका संक्रमितहरुको संख्या बढिरहेको छ । थप झापालीहरु भारत र तेस्रो मुलुकबाट आउने क्रममा रहेको हुँदा संक्रमितको संख्या अझ बढ्ने निश्चित भएकाले प्रयोगशाला निर्माणमा अभियानले चासो देखाएको हो । कोरोना भाइरसको परीक्षणका लागि प्रदेश १ मा तीनवटा प्रयोगशाला छन् । प्रत्येक प्रयोगशालाले एक सय पिसिआर परीक्षण गर्न सक्छन् । तर, प्रदेश १ मा स्वाब संकलन भने दैनिक छ सयभन्दा बढी भइरहेको छ ।
प्रदेश १ का १४ र प्रदेश २ को सप्तरीबाट संकलन गरिएको स्वाब विराटनगरको कोशी अस्पताल, प्रादेशिक प्रयोगशाला र धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण हुने गरेको छ ।
बैठकमा अभियानका साझेदार संस्थाहरु सहारा नेपाल साकोस, सहारा नेपाल, नेपाल रेडक्रस सोसाइटी झापा र उपशाखा बिर्तामोड, जिल्ला सहकारी संघ, गैरसरकारी संस्था महासंघ, राष्ट्रिय उपभोक्ता मञ्च झापा, वीरता जेसिज, रोटरी क्लब अफ बिर्तामोड मिडटाउन, रोटरी क्लब अफ बिर्तामोड, रोटरी क्लब अफ सुरुङ्गाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
त्यस्तै, अन्तर्राष्ट्रिय झापाली समाज, राष्ट्रिय सहकारी बैंक, नेपाल औषधि व्यवसायी संघ, लायन्स क्लब अफ कनकाई सुरुङ्गा, जेसिज पूर्वअध्यक्ष समाज, बिर्तामोड उद्योग वाणिज्य संघ, झापा गोल्डकप र मेची पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष, पदाधिकारी र सदस्यको उपस्थिति रहेको थियो । बैठकको सहजीकरण सम्वाद समूहले गरेको हो ।यसैबीच, अभियानको कोषमा हालसम्म ५७ लाख ४१ हजार ९२९ रुपैयाँ जम्मा भइसकेको छ । पहिलो चरणमा झन्डै दुई हजार विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको अभियानले १० हजार मजदुरलाई तयारी खाना खुवाएको थियो । त्यस्तै, बिर्तामोडको एउटा होल्डिङ सेन्टरमा रहेका करिब दुई सयजनालाई बिहान, दिउँसो र बेलुका खाना खाजा खुवाउँदै आएको छ ।अभियानलाई देश तथा विदेशमा रहका ५२ वटा संघसंस्था र ६२१ जना व्यक्तिले आर्थिक सहयोग गरेका छन् । अभियानको कोषमा हाल १८ लाख ६४ हजार ६९६ रुपैयाँ बचत रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्