झापा , जेठ २३ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबार थप एकजनाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि गरे । यसअघि कोरोनाकै कारण १० जनाको मृत्यु भएको र शुक्रबार एक थपिएसँगै ११ जना पुगेको उनको प्रष्ट पारे । बिहीबार मृत्यु भएका सुर्खेत पञ्चपुरीका २८ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो। जेठ ८ गते भारतबाट आएर क्वारेन्टाइनमा १४ दिन बसेका उनको आरडीटी रिपोर्ट नेगेटिभ आएपछि घर गएका थिए । घर पुगेलगत्तै उनको मृत्यु भएको र पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको प्रवक्ता देवकोटाले जानकारी दिए । आज एकैदिन २७८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार आज २७८ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या दुई हजार ९ सय १२ पुगेको हो।
बिहीबार ३३४, बुधबार २०१ र मंगलबार २८८ जनाका कोरोना संक्रमण पुष्टि भएको थियो। हरेक दिन संक्रमितको संख्या बढ्दै गएको छ ।आज पीसीआर विधिबाट ८८ हजार तीन सय ६६ र आरडीटी विधिबाट एक लाख ३२ हजार ९ सय ६६ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार दुई सय ३२ र आरडीटी विधिबाट सात हजार चार सय २ जनाको नमुना परीक्षण गरिएको छ । अहिले आइसोलेसनमा दुई हजार पाँच सय ६८ जनाको उपचार भइरहेको छ । नेपालमा अहिलेसम्म कोरोना जित्नेको संख्या तीन सय ३३ पुगेको छ । आज मात्र ४३ जना डिस्चार्ज भएका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्