भद्रपुर, जेठ २३ । कुनै बेला नेपाली भएर जन्मेकोमा आत्मग्लानी गरेर सुख सुविधाको बहानामा परदेश पस्नेहरूलाई विपद्मा जन्मभूमि सम्झन बाध्य बनाएको छ ।

फाइल तस्वीर

परदेशमा कमाएको पैसाले विपद्मा काम नदिने अवस्था आएपछि त्यहाँको सुख सुविधा बेकार अनुभूति गरेर जन्मभूमि फर्कन बाध्य भएको विदेशबाट नेपाल फर्केकाहरूले बताउन थालेका छन् ।
गोजीमा पैसा भएपनि परदेशमा किनेर खाने खाना समेत नपाएर सयौं किलोमिटर भोकै तिर्खै हिँडेर आफ्नो देशको सिमाना छेउ आइपुगेका अधिकांस त्यहाँ पनि नराम्ररी ठगिएको सुनाउँछन् । नेपाल तथा भारतका ठगहरूले विभिन्न बहानामा सुरक्षाकर्मीकै अगाडि ठग्ने गरेको दृश्यले उनीहरूको मन नराम्ररी कुँडिएको छ । कोही खाना ल्याइदिने बहानामा ठगिरहेका छन् त कोही सिमाना कटाइदिने, कोही होल्डिङ हाउस वा क्वारेन्टाइन पुर्याउने बहानामा लुट्नसम्म लुटिरहेका छन् ।
भारतको सिलिगुडी शहरबाट पानीट्याङ्की नाका हुँदै भद्रपुर १० स्थित कलवलगुडी क्वारेन्टाइनमा आइपुगेका रसुवा घर बताउने तिलप्रसाद पौडेल पानीट्याङ्की—काँकरभिट्टा नाकामा नेपाल भारत दुवै देशका ठगहरूको ठूलो गिरोह रहेको बताउँछन् । उनीहरू कोरोना त्रासको विपद्बाट बच्न आफ्नो मातृभूमि फर्कने नेपालीहरूलाई विभिन्न बहाना बनाएर दिनदहाडै ठगिरहेका छन् । त्यस्ता ठगहरूबिरूद्ध नेपाल तथा भारतका सुरक्षाकर्मीसमेत कडा रूपमा प्रस्तुत हुन नसक्दा मानिस ठगिने क्रम तीव्र छ ।
पछिल्लो समय होल्डिङ हाउस र क्वारेन्टाइनमा आइपुगेकाहरूको पीडा सुन्दै कहालीलाग्दो छ । उनीहरूमध्ये अधिकांस भारतीय क्षेत्रका विभिन्न शहरमा रोजीरोटीका लागि पुगेका थिए । नेपालमा काम गर्दा थोरै आम्दानी हुने भएपछि सुखसुविधाका विदेश मोह पलाएको हो ।उनीहरुका अनुसार विदेशमा कमाएको पैसा विपद् आइलाग्दा कागजको खास्टो भन्दा केही नहुने रहेछ । सुख त एक्लै बाँड्न सकिने भए पनि दुःखमा आफन्त, साथीभाइ र जन्मभूमि चाहिने रहेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्