दमक, जेठ २४ । मकै छोडाउने आधुनिक प्रविधि भित्रिएपछि यसमा किसानहरुको आकर्षण बढ्दै गएको छ । मकै छोडाउने मेसिनको प्रयोग हुन थालेपछि हातले मकै छोडाउँदा खर्चिनुपर्ने समय र हात दुख्ने समस्याबाट छुटकारा मिलेको किसानले बताएका छन् ।

ग्रामीण क्षेत्रमा परम्परादेखि हातले नै मकै छोडाउने चलन रहेकोमा अहिले नयाँ प्रविधिको विकास भएपछि झापाका किसानले आधुनिक मेसिनको प्रयोग गरी मकै छोडाउन थालेका हुन् ।
मकैको घोगा एक भागबाट मेसिनमा राख्ने र अर्को भागबाट हेन्डिल घुमाए मकै एकैछिनमा छोडाउन सकिने कमल गाउँपालिका— ५ गुहेश्वरीका दिनेश अधिकारीले वताए । मकै छोडाउने यस्तो प्रविधिले किसानलाई राहत पुगेको उनको भनाइ छ । यस प्रविधिमा किसानको आकर्षण बढ्ेसंगै मकै छोडाउने मेसिनको माग समेत बढ्दै गएको छ ।
कमल गाउँपालिका ५ स्थित लगनशील कृषि सहकारी संस्थाले आफना शेयर सदस्यहरुका लागि मकै छोडाउने मेसिन भाडामा उपलव्ध गराउँदै आएको अध्यक्ष एलवी विष्टले बताए । मकैको सिजनमा मेसिन भाडामा लैजान हानाथाप हुने गरेको उनले सुनाए ।
उनले भने, –‘एक ठाउँवाट अर्को ठाउँसम्म लैजान सकिने यस औजारको प्रयोगवाट मकै छोडाउँदा समय र श्रम कम लाग्ने भएकाले किसानलाई सुविधा पुगेको छ ।’ सहकारीले दिनको रु ३०० भाडामा सो मेसिन उपलव्ध गराउँदै आएको छ ।
कमल गाउँपालिकाले किसान समूहको साझेदारीमा यसवर्ष मात्र १० वटा मकै छोडाउने यान्त्रिकरण उपलव्ध गराएको कृषि शाखाका प्रमुख महेन्द्र बोहोराले वताए । मकै छोडाउने परम्परागत शैलीले किसानको समयसंगै लगानी समेत बढी हुने भएकाले त्यसबाट विस्थापित गरी यान्त्रिकरण औजारबाट मकै छोडाउँदा समय र पैसा समेत बचत हँुदै आएको उनले बताए ।
उनका अनुसार गाउँपालिकाले कृषि यान्त्रिकरण कार्यक्रमअन्तर्गत कमलका सातवटै वडाका किसान समूहसंगको समन्वयमा ती कृषि यान्त्रिकरण दिएको छ । मकै छोडाउने आधुनिक औजार भित्रिएपछि त्यस्ता यान्त्रिकरण प्रयोगमा जोड दिन गाउँपालिकाले ती औजार दिएको उनले बताए । यस्तै गाउँपालिकाले समूहमार्फत एक हजार केजी रामपुर जातका उन्नत मूल वीउ वितरण गरेको र यसवर्ष किसानले करिव ३० हेक्टर क्षेत्रफलमा मकै खेती लगाएको समेत उनले वताए । यसैगरी, मकैमा देखा परेको फौजी किरा नियन्त्रणका लागि किसानलाई आवश्यकता अनुसार विषादी समेत उपलव्ध गराएको कृषि शाखाका प्रमुख बोहोराले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्