द्रोण अधिकारी,
भद्रपुर, जेठ २४ । वर्षायाम शुरु हुनै लाग्दा भद्रपुर ९ का मेची राजमार्गसित जोडिएका लिंकरोड आसपासका बस्ती प्रवेश गर्ने सडक भत्काएर छोडेका कारण स्थानीय समस्यामा परेका छन् ।

आर्थिक वर्ष २०७५÷७६ मा सडक विभागमार्फत ठेक्का लागेर निर्माण सुरू भएका ४ वटा सडक ठेकेदारले भत्काएर अलपत्र छोडेपछि आवागमनमा स्थानीयलाई समस्या भएको हो ।
संघीय सांसद सुरेन्द्रकुमार कार्कीको सांसद विकास कोषमार्फत करिव ६ करोड रूपैयाँमा मिलचौक—प्रणामी मन्दिर, लक्ष्मीचौक—मेथीवारी, अस्मिता मार्ग र भद्रपुर १० को सयपत्री मार्ग निर्माण गर्न प्रतिसडक ५ सय मिटरका दरले पक्की नालासहित ग्राभेलिङ गर्ने जिम्मा लिएको काठमाण्डौ बुढानिलकण्ठको रसिस विल्डर्सले काम सुरू गरेर ४ वटै सडक अलपत्र छोडेपछि स्थानीय समस्यामा परेका हुन् ।
प्रतिसडक एक करोड हाराहारीमा कामको जिम्मा लिएका ठेकेदारले पेश्की वापत ३० प्रतिशत रकम लिएर सम्पर्कबिहीन भएको स्थानीयको आरोप छ ।

उनीहरुका अनुसार सडक बनाउन छुट्याएको बजेटअनुसारको काम भयो कि भएन भनेर सांसद कार्की स्थलगत अनुगमनमा समेत आएका छैनन् ।स्थानीय नवीन केसीका अनुसार कति रकममा कुन स्तरको काम कहिलेसम्म गरिसक्ने भन्ने कुरा सरकारी पक्षले प्रष्ट नपार्दा कामबारे आशंका पैदा भएको छ ।स्थानीयको गुनासो बढेपछि नेपाली काँग्रेस भद्रपुर नगर समितिको पहलमा क्षेत्रीय समितिले अलपत्र सडकको अवस्थाबारे स्थलगत अनुगमन गरेको थियो । नेपाल महिला संघकी केन्द्रीय सदस्य गोमा भट्टराई, क्षेत्रीय सभापति गणेश पोखरेल, क्षेत्रीय सचिव रमेश पोखरेललगायत नगर तथा वडा समितिसहितको टोलीले स्थलगत अनुगमन गरी सडक निर्माण अगाडि बढाउन सांसद कार्कीमार्फत ठेकेदार कम्पनीलाई दवाव दिने निर्णय गरेको थियो । तर, काम सुचारू भने हुन सकेको छैन ।
यसैबीच भद्रपुर ९ मिलचौक—प्रणामी मन्दिर सडक खण्ड स्थानीयले आफैं सडक बनाउन थालेका छन् । काम अलपत्र पार्ने रसिस विल्डर्सका सञ्चालक पुष्कल पौडेललाई दिने निकासा सिधै स्थानीयलाई नै दिने वातावरण निर्माण गर्न सांसद कार्कीसित अनुरोध गर्दै स्थानीयले आफैं सडक बनाउन थालेका हुन् । स्थानीय शान्ति सापकोटाको अगुवाइमा सो काम थालिएको जनाइएको छ ।