झापा, जेठ २४ । डोल्पामा कोरोना भाइरस संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।

जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । जेठ १८ गते नेपालगञ्जबाट डोल्पा पुगेका उनलाई क्वारेन्टाइनमा राखिएको थियो । उनी लामो समयदेखि दमको रोगबाट पीडित थिए । पछि उनलाई होम आइसोलेसनमा राखिएको थियो । होम आइसोलेसनमै रहेका जेठ २० गते उनको मृत्यु भयो । मृत्युपछि स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनमा पीसीआर परीक्षणका लागि पठाइएकोमा आज आएको उनको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उद्धृत गर्दै जगदुल्ला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले जानकारी दिए । सुरक्षाका उपाय अपनाई उनको दाह्संस्कार गरेको भएपनि उक्त वडा र छिमेकी गाँउका अधिकांश संक्रमित भएको हुनसक्ने आशंका रहेको जैसीले बताए । गाउँपालिकाका सबै नाका र गाउँ सिल गरिएको गाउँपालिका अध्यक्ष नारासिँह रोकायाले जानकारी दिए । यसैबीच जेठ १५ गते भारतबाट आएर बाजुरामा क्वारेन्टाइनमा बसेका वृद्धको मृत्यु भएको छ । बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ मा रहेको मष्टा आधारभूत बिद्यालय बुढाबाडाको क्वारेन्टाइनमा ६५ वर्षीय वृद्धको मृत्यु भएको हो ।गएराति एक्कासी बिरामी भएपछि उनको क्वारेन्टाइनमा मृत्यु भएको हो । जेठ १५ गते भारतबाट आएर उनी क्वारेन्टाइनमा बसेका थिए । मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए । उनको शव नेपाली सेनाले व्यवस्थापन गर्ने प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्