भद्रपुर, जेठ २७ । कोभिड १९ को इपिसेन्टर बनेको झापाको दक्षिणी क्षेत्र कचनकवलमा तस्करी तीव्र गतिमा भइरहेको छ ।

गएराति सशस्त्र प्रहरी बोर्डर आउट पोष्टका इन्स्पेक्टरको नेतृत्वमा गएको टोलीले सो क्षेत्रका विभिन्न नाकाबाट सामान बरामद गरेपछि तस्करी तीव्र गतिमा हुने गरेको पुष्टि भएको हो ।
भारतबाट लुकाइछिपाइ ल्याएर चिया वगानमा घासले छोपेर राखेको अवस्थामा सामान बरामद गरिएको सशस्त्र प्रहरी बल गण नम्बर २ झापाले जनाएको छ ।
टोलीले खानेतेल, सुर्तीजन्य पदार्थ रासायनिक मल लगायतका सामान बरामद गरेको केचनाका इन्स्पेक्टर लोकबहादुर तामाङले जानकारी दिए । सीमा क्षेत्रमा ड्युटी भएपनि तस्करले मौका छोपेर अवैध रुपमा सामान नेपाल भित्र्याउदै गरेको जनगुनासो आएपछि दुईतीन दिनको प्रयासमा मध्यराति विभिन्न प्रकारका सामान फेला पारिएको उनले जानकारी दिए । केचना नाकाबाट मात्र अनुमानित ५० हजार मूल्य बराबरको सामान बरामद गरिएको उनले जानकारी दिए ।
त्यसैगरी दुई दिनयता केचनालगायत अन्य नाकाबाट ४ लाख ४३ हजार ९सय रुपैयाँ मूल्य बराबरको अवैध सामग्री बरामद गरिएको गण २ झापाका डिएसपी तथा सूचना अधिकारी द्रोणबिक्रम शाहले बताए । मातहतमा रहेका टाघनडुब्बा, भागुडुब्बा र काँकरभिट्टा नाकाबाट विभिन्न प्रकारका औषधि,खानेतेल,मोटरपार्टस्,सुर्ती, मोवाइल र विआर ३७ एच ९४७४ नम्बरको एक थान भारतीय मोटरसाइकल समेत बरामद गरिएको उनले जानकारी दिए । सामानलाइ सोमबार मेची र भद्रपुर भन्सार कार्यालयमा बुझाइएको उनले जनाए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्