बिर्तामोड जेठ ३२ । कोरोना संक्रमणको जोखिमबाट जनधनको सुरक्षा गर्न माग गर्दै नेपाली कांग्रेस झापाले सरकारलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशन बमोजिम नेपाली कांग्रेस झापाको आज सम्पन्न बैठकले असार २ गते जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउने निर्णय गरेको हो । नेपाली कांग्रेसले देशभरका ७७ वटै जिल्ला समिति तथा विदेशस्थित नियोगहरुमार्फत कोरोना भाइरस संक्रमणका कारण विकराल बन्दै गएको परिस्थितिबारे सरकारको ध्यानाकर्षण गराउँदै अप्रत्यासित रुपमा बढिरहेको संक्रमण रोकथामका लागि प्रभावकारी कार्य गर्न सरकारको ध्यानाकर्षण गराउन लागेको हो ।
नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाको सभापतित्व र कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु केशवकुमार बुढाथोकी, सरिता प्रसाईं, भारतेन्दु मल्लिक, सुधिरकुमार शिवाकोटी, कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य, सल्लाहकार सदस्य, भातृ संस्थाका केन्द्रीय सदस्य, केन्द्रीय विभागीय समिति सदस्य, क्षेत्रीय, प्रदेश क्षेत्रीय सभापतिहरु, गाउँ÷नगर सभापतिहरु, भातृ तथा शुभेच्छुक संस्थाका जिल्ला अध्यक्षहरु सहभागी बैठकले सामाजिक दुरी कायम राखेर ज्ञापनपत्र बुझाउने कार्यक्रमलाई प्रभावकारी बनाउने निर्णय गरेको प्रवक्ता लोकराज ढकालले जानकारी दिए ।
असार २ गते झापाको चन्द्रगढीस्थित गिरिजाप्रसाद कोइराला स्मृति भवनको अगाडि भेला भएर दिउँसो ठिक १२ बजेका लागि तय गरिएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला, क्षेत्र, प्रदेश क्षेत्र, गाउँ÷नगर÷वडा समिति, भातृ तथा शुभेच्छुक संघसंस्था, क्रियाशील सदस्यलाई सशक्त रुपमा सहभागी हुन सभापति थापाले आह्वान गरे ।
बैठकमा सहभागीहरुले राखेको जिज्ञाशाको जवाफ दिदै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले कोरोना परीक्षणमा प्रभावकारी कार्य गर्न नसकेको दावी गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्