भद्रपुर , असार ९ । कोरोना भाइरसको महामारीका कारण लामो लकडाउनमा परेका झापालीहरुलाई झापाली समाज अष्ट्रेलियाले सहयोग जारी राखेको छ । त्यसक्रममा समाजले झापा जिल्लाको दक्षिणी कचनकवल गाउँपालिकाका ७० परिवारलाई राहतस्वरुप खाद्य सामग्री वितरण गरेको छ ।

कचनकवल ६ बनियानी वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी बनियानीका विपन्नहरुका लागि सो सहयोग हस्तान्तरण गरिएको हो । कार्यक्रममा सहयोग सामग्री ग्रहण गर्दै वडाध्यक्ष कुलबहादुर कार्कीले यो संकटको घडीमा विदेशमा बस्ने झापालीहरुले जिल्लावासीलाई गरेको सहयोग अतुलनीय एवं अनुकरणीय भएको बताए । उनले अनेक दुःख गरेर कमाएको पैसा समाजका निम्ति पठाएर झापाली समाजले ठूलो गुण लगाएको भन्दै धन्यवाद दिए । समाजका अध्यक्ष उमेश पोखरेलले फोनमार्फत झापाली समाज आवश्यक सहयोग गर्न सधै तत्पर रहेको बताए । उनले निरन्तर सहयोगको यो एक अंश भएको धारणा राखे । कार्यक्रममा वडाध्यक्ष कार्की, वडा सदस्य टेनेस राजवंशी, महिला सदस्य रीता परियार , समाजसेवी कर्णलाल राजवंशी लगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन झापाली समाजका सल्लाहकार कर्ण राजवंशीले गरेका थिए । बाढी होस् अथवा भुकम्प हरेक विपद्मा झापाली समाजले प्रत्यक्षरूपमै जिल्लावासीहरुलाई सहयोग गर्दै आएको र यो अभियान आउँदा दिनहरुमा पनि निरन्तर जारी रहने समाजका सह—सचिव मदन धौरालीले जानकारी दिए । समाजले गएको हप्ता अघि भद्रपुर नगरपालिकालाई क्वारेन्टाइनका लागि ५० थान विद्युतीय केट्ली तथा सिसाका गिलास दिएको थियो भने ‘एकका लागि एक’ अभियानअन्तरगत दुई हप्ताअघि पिसिआर परीक्षणका लागि १ लाख वरावरको सामग्री प्रदान गरेको थियो । साथै मेचीनगर नगरपालिकाको क्वारेन्टाइनमा रहेकाहरुलाई केही दिनभित्रै आवश्यक सहयोग गर्ने समाजको योजना रहेको छ । बिर्तामोड नगरपालिका लगायत हल्दीबारी गाउँपालिकामा रहेका विपन्न परिवारलाई पनि राहत वितरण गर्ने झापाली समाजले घोषणा गरेको र यो काम केही दिनमै सम्पन्न गर्न आवश्यक गृहकार्य भईरहेको सदस्य प्रज्ञान श्रेष्ठले बताए । अन्तर्राष्ट्रिय झापाली समाजले घोषणा गरेको पिसिआर मेसिन प्रदान गर्ने अभियानलाई पनि आफ्नो तर्फबाट उल्लेखनीय सहयोग गर्ने समाजका सचिव अशोक उप्रेतीले जानकारी दिए। यो सहयोग अभियान लगायत आवश्यक परेको जुनसुकै बेला पनि साथ दिई खुला मनले निरन्तर सहयोग प्रदान गर्ने समाजका शुभचिन्तक महानुभावहरुलाई समाजले हार्दिक धन्यवाद ज्ञापन गरेको छ। झापाली समाज अष्ट्रेलिया विभिन्न व्यवसाय, रोजगार एवं अध्ययनका सिलसिलामा अस्ट्रेलियामा रहेका झापालीहरुको साझा संस्था हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्