भद्रपुर, असार १० ।
झापाको हल्दिवारी गाउँपालिकाको गाउँसभा चलिरहेको बेला केही अराजक व्यक्तिहरूको समूहले आक्रमण गर्दा लाखौंको क्षति भएको छ ।

गाउँपालिकाको कार्यालयमा चलिरहेको गाउँसभा विथोल्न आएका अराजक व्यक्तिको आक्रमणबाट झ्याल, ढोका, टेवलकुर्सीलगायत कार्यालयका भौतिक संरचना टुटफुट हुँदा लाखौं क्षति पुगेको हो ।

गाउँपालिकामा मागसहितको ज्ञापनपत्र बुझाउने बहानामा आएका व्यक्तिहरूले एक्कासी ढुंगामुढा प्रहार गर्दा भौतिक संरचनामा क्षति पुगे पनि सभामा सहभागी जनप्रतिनिधि भने सकुशल रहेको जनाइएको छ ।यता सभामा सहभागी एक जनप्रतिनिधिले नाम नछाप्ने शर्तमा दिएको जानकारी अनुसार गाउँपालिका अध्यक्षको सुनियोजित षड्यन्त्रमा ज्ञापनपत्र बुझाउने बहानामा गाउँसभा बिथोल्न आक्रमण भएको हो । उनका अनुसार अध्यक्षले चलिरहेको सभा बिसर्जन नगरी आक्रमणकारीको भेलालाई सम्बोधन गर्दै आफ्नो कोठाको टेबुलसमेत फुटाएर गाउँपालिकाबाट बाहिरिएका थिए ।हल्दिवारीमा बहुमत कार्यपालिका सदस्य नेकपाका रहेका कारण अल्पमतमा रहेका गाउँपालिका अध्यक्षले आफ्नो पार्टीको नीति र लक्ष्य अनुसार काम गर्न नपाएको रिस पोख्न गाउँसभा बिथोल्न लगाएको हुन सक्ने जनप्रतिनिधिहरू नै बताउने गर्छन् । यस सभाका बेला पनि सभाहलमा सहभागी सवै जनप्रतिनिधिबीच कुनै मतभेद नदेखिएका बेला बाहिरबाट आक्रमण हुनु रहस्यमय मानिएको छ ।
यसैबीच अनेरास्ववियू हल्दिबारी गाउँ कमिटीले एक प्रेस विज्ञप्ति जारी गरी गाउँपालिका अध्यक्ष लिङ्देन र वडाध्यक्ष होमप्रसाद चुडालले सो आक्रमण गराएको भन्दै दोषीमाथि कार्वाहीको माग गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्