बिर्तामोड, असार १० । बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०७७—०७८ को लागि एक अर्ब १५ करोड ४ लाख ८८ हजार रुपैयाँको अनुमानित आय व्यय सार्वजनिक गरेको छ ।

आज पाँचौं नगरसभामा नगरपालिकाका उपप्रमुख पबित्रा महतरा प्रसाईंले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो अनुमानित आय व्यय सार्वजनिक गरेकी हुन् । नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा भएको पाँचौं नगरसभामा शिक्षा, स्वास्थ, कृषि तथा मेयर पकेट कार्यक्रमलाई मुख्य प्राथमिकता दिइएको छ । यो वर्षबाट नगरपालिकाले गर्भवती महिलालार्ई बिर्तामोड र भद्रपुरका अस्पतालसम्म जानका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने प्रस्ताव गरेको छ । यसैगरी, जेष्ठ नागरिकको घरदैलोमा नै निःशुल्क चेकजाँच, वैदेशिक रोजगारीबाट आएका युवालाई स्वरोजगार बनाउन कर्जा, अनुदान, प्रविधि उपलब्ध गराउने लगायतका कार्यक्रम सार्वजनिक गरेको छ । नगरभित्रका सबै सामुदायिक विद्यालयमा कक्षा ५ सम्म दिवा खाजा वितरण गर्ने कार्यक्रम प्रस्ताव गरिएको छ । विपन्नका लागि निःशुल्क स्वास्थ बीमा गर्ने लगायतका विषयलाई नीति तथा कार्यक्रममा जोड दिइएको छ । यसरी नै कर राजश्व नतिरी ब्यवसाय गरिरहेका पुराना व्यवसायीलाई २०७४ सम्म नवीकरण दस्तुर छुट दिने प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्