भद्रपुर, असार १० ।
झापाको हल्दिवारी गाउँपालिकाको बहुमत सदस्यद्वारा प्रस्तावित वजेट नीति तथा कार्यक्रम अध्यक्षको उपस्थितिविना नै पारित भएको छ ।


उँसभा चलिरहेको बेला केही अराजक व्यक्तिहरूको समूहले आक्रमण गरेपछि गाउँपालिका अध्यक्ष सभा छोडेर विना जानकारी बाहिरिएको भन्दै बहुमत सदस्यले उपाध्यक्षको नेतृत्वमा सभा सञ्चालन गरी प्रस्तावित वजेट नीति तथा कार्यक्रम पास गरेको हो ।
उपाध्यक्ष डम्बर गिरीसहित १८ जना जनप्रतिनिधिद्वारा हस्ताक्षरित विज्ञप्तिमा गाउँपालिकाको कार्यालयमा चलिरहेको गाउँसभा विथोल्न आएका अराजक व्यक्तिको समूहलाई गाउँपालिका अध्यक्ष रविन्द्रकुमार लिङ्देनले ल्याएको आरोप लगाइएको छ । विज्ञप्ति अनुसार गाउँपालिका अध्यक्षको सुनियोजित षड्यन्त्रमा ज्ञापनपत्र बुझाउने बहानामा गाउँसभा बिथोल्न आक्रमण भएको हो । अध्यक्षले चलिरहेको सभा बिसर्जन नगरी आक्रमणकारीको भेलालाई सम्बोधन गर्दै गाउँपालिकाबाट बाहिरिएपछि गाउँसभा सञ्चालन कार्यविधि २०७५ को दफा १६को उपदफा ५ अनुसार उपाध्यक्ष डम्बर गिरीलाई सभाध्यक्ष बनाई प्रस्तावित वजेट नीति तथा कार्यक्रम पास गरेको विज्ञप्तिमा जनाइएको छ ।
उपाध्यक्ष गिरीसहितले मागपत्र बुझाउन आएको समूहसँग मिलेर अध्यक्ष लिङ्देनले तोडफोड गरेको दावी गरिरहँदा लिङ्देनले भने आफूहरुमाथि नै आक्रमण भएको बताएका छन् । आक्रमणमा दुई जना गम्भीर घाइते भएका छन् ।

न्यायिक समितिका संयोजक समेत रहेका उपाध्यक्ष डम्बर गिरी, वडाध्यक्ष त्रिलोचन सापकोटा, महेश मेचे लगायत नेकपा समर्थकहरुले गाउँपालिका अध्यक्ष सहितलाई आक्रमण गरी घाइते बनाएको वडा नं.–४ का वडाध्यक्ष होम चुडालले दावी गरेका छन् । आक्रमणका क्रममा गाउँपालिका अध्यक्ष लिङदेन, वडा नंं–४ का वडाध्यक्ष होम चुडाल, ५ नम्बर वडाका वडाध्यक्ष शेरबहादुर नेम्वाङसहित वडा सदस्य मदन तामाङको छातीमा असर परेको बताइएको छ ।
अन्य घाइते भीम तुम्बापो र भिमराज फियाकको बिर्तामोडस्थित विर्ता सिटी हस्पिटलमा उपचार भइरहेको बताइएको छ । झडपका क्रममा गाउँपालिका रहेको भवनको झ्यालका शिशा समेत फुटेको बताइएको छ । कंचनश्री भुतेनी खोलाबाट देउनिया खोलासम्म चारकोसे जङ्गलको बाहिरी बाटोलाई नामाकरण गर्ने विषयमा नेकपा समर्थक तथा राप्रपा—कांग्रेसबीच विवाद भएको हो । नेकपाले द्रोणचार्य मार्ग र राप्रपाले केशव कन्दङ्वा मार्ग नामाकरण गर्नुपर्ने अडानका कारण गाउँसभामा विवाद भएको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्