बुद्धशान्ति, असार १५ । बुधबारे जेसीजले झापामा सलह किरा देखिए किसानले संकलन गरेको सलह किरा प्रतिकिलो ५० रुपैयाँका दरले किनिदिने भएको छ ।

‘किसानका लागि जेसीज’ भन्ने अभियानअन्तर्गत सो कार्य गरिने भएको हो ।बुधबारे जेसीजको सोमबार सम्पन्न बोर्ड बैठक तथा क्यालेन्डर बिमोचन कार्यक्रममा सो निर्णय भएको हो । सलह किरा नेपाल भित्रिसकेको अवस्थामा झापामा पनि त्यसबाट हुन सक्ने क्षतिबाट किसानलाई राहत मिलोस् भन्ने उद्धेश्यले सो निर्णय गरिएको बुधबारे जेसीजका अध्यक्ष जेसी नन्दकुमार याफु राईले बताए । बैठकले झापामा संचालित ‘एकका लागि एक’ कार्यक्रमलाई सफल बनाउन आर्थिक सहयोग गर्ने निर्णय पनि गरेको छ । लकडाउनको समयमा बुधबारे जेसीजले एक दर्जनभन्दा बढी परोपकारी काम सम्पन्न गरिसकेको छ ।

क्यालेन्डर बिमोचन समेत गरिएको कार्यक्रममा नेपाल कृषि प्रधान देश भएको र सलह किराले किसानलाई ठूलो क्षति पुग्न सक्नेतर्फ सबै सम्बन्धित निकाय सचेत र सजग हुन जरुरी भएको निचोड निकालिएको छ । बुद्धशान्ति—२ का वडाध्यक्ष दिलिप श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न क्यालेन्डर बिमोचन कार्यक्रम जेसी तिर्थ तिम्सिनाको संयोजकत्व र अध्यक्ष राईको सभापतित्वमा भएको थियो । कार्यक्रममा बुधबारे जेसीजका पूर्व अध्यक्षहरू सेवन्त पोख्रेल र प्रकाश भण्डारी, कानुनी सल्लाहकार मुकेश भट्टराई, कार्यकारीणि उपाध्यक्ष गजुहाङ योङ्हाङ, उपाध्यक्ष सुजित बराल, सचिव अनिल वाग्लेलगायतको आतिथ्यता थियो । कार्यक्रम महासचिव दिपेन सिटौलाले संचालन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्