शिवसताक्षी, असार १८ । सिराहाबाट दुलही लिन झापा आएको माइक्रो बसलाई इलाका प्रहरी कार्यालय झिलझिलेले सवारी पास नभएको भन्दै रोकिदिएपछि बीचबाटोमै बेहुलासहित १८ जना जन्ती अलपत्र परेका छन् ।

जन्तीको गाडी

भद्रपुर ५ बसपार्ककी मनिका यादवलाई लिन दुलहा बनेर भद्रपुर आउँदै गरेका सिराहा १५ का रोहित यादवलाई प्रहरीले साँझ ५ बजेदेखि राजमार्गमा रोकेर राति पौने १० बजे छोडेको हो । जवकी उनीहरुको विवाहको साइत राति सवा ९ बजेको थियो । प्रहरीले पटक्कै व्यवहारिकता नबुझेको उनीहरुले गुनासो गरे । ‘आखिर छाड्नै रहेछ । पाँच घन्टा सडकमा प्रहरीले दुलहालाई किन अलपत्र पारेर छाड्यो ? उनीहरुले प्रश्न राखे ।
जन्तीका अनुसार सवारी पास बिना जान पाइन्न भन्दै प्रहरीले घर फर्कन भनेको थियो । सिराहाबाट भद्रपुर पुगेर बेहुली लिन झिलझिलेसम्म आइपुगेको जन्तीलाई प्रहरीले घर फर्कन दिएको दवाब सवारी चेकिङ्गमा परेका अन्य कसैलाई पनि चित्त बुझेको थिएन । केहि प्रत्यक्षदर्शीले भन्दै थिए, ‘यस्तो व्यवहार गर्ने विवेकहीन इन्सपेक्टर देखेकै थिएनौं ।’

बेहुला

इलाका प्रहरी कार्यलय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुर नेतृत्वको प्रहरी टोलीले राजमार्गमा दुलहा सवार ना १ ज ८८८५ नम्बरको माईक्रो रोकेको थियो । उनले जन्ती मात्र रोकेनन् । केहि टिपर पनि रोकेका थिए । प्रदेश गृहमन्त्री हिक्मत कार्की निकटका मानिसले फोन गरेर टिपर छाड्न इन्सपेक्टर ठाकुरलाई दबाब दिएपछि इलाका प्रहरी कार्यालय झिलझिलेको कम्पाउण्डभित्र पार्किङ्ग गरिएका टिपर छाडिएको एक प्रत्यक्षदर्शीले बताए । तर, बेहुलाको गाडी भने छाडिएन । पहुँच हुनेको छाडियो निरिह सर्वसाधारणको विवाहको गाडी भने झिलझिले प्रहरीले छाडेन ।
जन्तीले जरिवाना तिरेर जान गरेको आग्रहलाई प्रहरी निरीक्षक ठाकुरले इन्कार गरे । जन्तीका अनुसार उनले यतिमात्र भनिरहे, ‘सवारी पास नभएको गाडी फर्काएर घरै जानुहोस् । लकडाउनमा विवाह गर्न पाईदैन ।’
बुधबार राति पौने १० बजेसम्म बेहुला सडकमा अलपत्र नै थिए । प्रहरी निरीक्षक ठाकुरले आफ्नै समकक्षीले भनेको समेत टेरेनन् । बेहुलासहितका जन्तीले पटकपटक अनुरोध गर्दा पनि प्रहरी निरीक्षक ठाकुरले कुनै हालतमा नछाड्ने बताएर आफूलाई मानसिक तनाब दिएको बेहुला प्रदिपकुमार यादवले बताए ।
सिराहा बजारबाट दिउँसो १२ बजे बेहुली लिन उक्त माईक्रो भद्रपुरतर्फ आउँदै थियो । झापाको झिलझिलेमा आईपुगेपछि सवारी चेकजाँच गर्नेक्रममा प्रहरीले उक्त माईक्रोलाई नियन्त्रणमा लिएको थियो । जन्तीमा सिराहाका एक स्थानीय पत्रकार पनि थिए । उनले पटकपटक अनुरोध गर्दापनि प्रहरी निरीक्षक ठाकुरले कुरा सुन्न नमानेको गुनासो गरे । ‘मैले पटकपटक अनुरोध गरे एकरति सुन्न मान्नुभएन । प्रहरीले परिस्थिति नबुझ्दा हामीले ५ घन्टा सडकमा दुःख र मानसिक पीडा पार्यौ,’ उनले भने ।
जन्तीले १ नम्बर प्रदेश प्रहरी प्रमुखलाई समेत प्रहरीले दुख दिएको गुनासो गरे । त्यसपछि राति साढे ९ बजे मात्र बेहुला सवार माईक्रो प्रहरीले छोडेको थियो । दुलहा रोहित यादवले प्रहरीले दुःख दिएको कुरा सुन्दा कतैबाट पनि चित्त नबुझेको गुनासो गरे । उनले भने,‘ ५ जिल्ला पार गरेर आउँदा सवारी पास नचाहिने झापाको झिलझिलेमा चै सवारी पास भन्दै रोकिदिने ? यो प्रहरीको दुःख दिने नियत हो ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्