झापा ,असार २० । विभिन्न घटनामा परी बितेको १० दिनमा प्रदेश १ का ५ जिल्लामा १५ जनाको मृत्यु भएको छ ।

यी घटनामा सबैभन्दा बढी मोरङमा ८ जनाको मृत्यु भएको हो । झापा, मोरङ, उदयपुर, इलाम र ताप्लेजुङमा भएका घटनामा उनीहरुको मृत्यु भएको हो । प्रदेश १ का बाँकी ९ जिल्लामा मृत्युको घटना भएको जानकारी नआएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
प्रदेश—१ प्रहरी कार्यालय बिराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दीपक पोखरेलले खोलाले बगाउँदा, पानीमा डुबेर , चट्याङ र सवारी दुर्घटनामा परी उनीहरुको मृत्यु भएको जानकारी दिए । घटना विवरणअनुसार शुक्रबार दिउँसो मोरङको जहदा गाउँपालिका–३ का १८ वर्षीय दिनेश राजवंशी र २० वर्षीया रिक्की राजवंशीको पोखरीमा डुबेर मृत्यु भएको छ । करिब साँढे १ बजे स्थानीय ब्रहमदेव राजवंशीको पोखरीमा पौडी खेल्नेक्रममा रिक्कीको पोखरीमा नै मृत्यु भएको हो । दिनेशलाई उद्धार गरी उपचारका लागि कोशी अस्पताल बिराटनगर पुर्याउनासाथ मृत्यु भएको हो । त्यसैगरी बिहीबार मोरङको बेलवारी नगरपालिका–९ घर भइ बिराटनगर महानगरपालिका–१९ मा बस्दै आएका २५ वर्षीय कान्छा चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । राति साँढे १० बजे सुत्नको लागि झुल लगाउने क्रममा अचानक करेन्ट लागेर घाइते भएका चौधरीको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही राति ११ बजेतिर मोरङको बिराटनगर महानगरपालिका–१५ रानीमा भएको स्कुटर दुर्घटनामा चालकको मृत्यु भएको छ ।
दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको लु.४६ प ६३९० नम्बरको स्कुटर अनियन्त्रित भइ दुर्घटना हुँदा स्कुटर चालक गम्भीर घाइते भएका थिए । बिराटनगर महानगरपालिका–१६ का २३ वर्षीय प्रशान्त बस्नेतको उपचारको क्रममा नोवेल अस्पताल बिराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ। असार १० गते झापाको बाह्रदशी गाउँपालिका—६ कञ्चनवारीमा एक वर्षीया अनुषा टुडूको खाल्डोमा डुबेर मृत्यु भएको थियो । खेल्नेक्रममा घर नजिकै पानी जमेको खाल्डोमा डुबेर उनको मृत्यु भएको हो ।
असार १२ गते मोरङको बिराटनगर महानगरपालिका—१८ आईसीपी भवन अगाडिको खाल्डोमा डुबेर ७ वर्षीय अंकुश मण्डलको मृत्यु भएको थियो । पानी जमेको खाल्डोमा बालक डुबिरहेको अवस्थामा छिमेकीले देखेका थिए । उद्धार गरी उपचारको लागि कोशी अस्पताल बिराटनगर पुर्याउनासाथ बालकको मृत्यु भएको हो ।
त्यस्तै असार १२ गते नै मोरङको रतुवामाई नगरपालिका—५ गोबिन्दपुरकी ५५ वर्षीया मायादेवी साहको बक्राहा खोलाले बगाएर मृत्यु भएको छ । बक्राहा खोला किनारमा चौपाया चराइरहेकी साहलाई अचानक खोलाको बाढीले बगाउँदा बेपत्ता भएकी थिइन् । खोजी गर्ने क्रममा १३ गते उनलाई मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । झापाको शिवसताक्षी नगरपालिका—८ मा असार १३ गते ३ वर्षीय बालक संयमकुमार बिष्टको पानीमा डुबेर मृत्यु भएको छ । कुलोको पानीमा खेल्ने क्रममा अचानक डुबेर बेहोस भएका बालकको उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै मोरङको कानेपोखरी गाउँपालिका—२का ७३ बर्षीय बद्री चौधरीको पानी जमेको खाल्डोमा डुबेर असार १५ गते मृत्यु भएको थियो । पहाडी जिल्ला ताप्लेजुङको श्रीजंघा—१ जौबारीका ७ बर्षीय रवीन दर्जीको असार १५ गते कुलोमा डुबेर मृत्यु भएको छ ।
असार १६ गते उदयपुरका दुई स्थानमा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका—१३ का ३८ वर्षीय सन्तोष भुजेलको बरुवा खोलामा पौडी खेल्नेक्रममा डुबेर मृत्यु भएको छ । स्थानीय थलाहा खोलाले बगाउँदा सुनसरीगढी गाउँपालिका—२ मुसहरी टोलका ४२ वर्षीय बब्लु भनिने बलराम ऋषिदेवको मृत्यु भएको हो ।सोही दिन इलामको देउमाई नगरपालिका—५ का २५ वर्षीय हरिप्रसाद चापागाँई देउमाई खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका थिए ।
पूर्वमा वर्षासँगै बाढी र पहिरोको जोखिम बढेको प्रहरीले जनाएको छ । पानी आएको समयमा नदी तथा खोला किनारमा नजान प्रहरीले आग्रह गरेको छ ।
झापामा यस्तो छ तयारी
यसैबीच बाढीको उच्च जोखिम क्षेत्रको रुपमा रहेको झापामा विपद्बाट जोगिन तयारी शुरु भएको छ । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जिल्ला विपद् व्यवस्थापनको बैठकले स्थानीय तहमा रहेका विपद् व्यवस्थापन समितिलाई तयारी अवस्थामा रहन आग्रह गरिएको बताए ।
उनले झापामा हुने सम्भावित जोखिमलाई ध्यानमा राखेर नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको विपद् व्यवस्थापन टोलीलाई तयारी अवस्थामा राखेको जानकारी दिए ।झापामा नेपाल रेडक्रस सोसाइटीले बाढीका बेला सुरक्षित रहन जिल्लाका विभिन्न ठाउँमा सेल्टर निर्माण गरेको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको समन्वयमा निर्माण गरिएको सेल्टर तथा गोदाम घरको झापाका प्रमुख जिल्ला अधिकारी, तीनवटै सुरक्षा निकायका प्रमुख, स्थानीय सरकार प्रमुख , रेडक्रसकर्मी र स्थानीयबासीले अनुगमन गरेको रेडक्रस सभापति लोकराज ढकालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्