द्रोण अधिकारी,
भद्रपुर, असार २१ ।सघन सहरी विकास योजनाअन्तर्गत निर्माण सम्पन्न भएको भद्रपुर नगरपालिका ९ र १० जोड्ने चन्द्रगढी सामुदायिक वनको कार्यालय पश्चिम चन्द्रगढ– देउनिया सडकको कालोपत्रे भत्कन थालेको छ । कमसल निर्माण सामग्री प्रयोग गरी रातारात तयार पारेको कालोपत्रे निर्माण सम्पन्न भएको एक महिना पुरा नहुँदै चिरिएर भत्कन थालेको हो ।

गजुरमुखी कन्स्ट्रक्सनले निर्माण गरेको सो सडकमा प्रयोग भएका निर्माण सामग्री कमसल रहेकोले भत्कन थालेको स्थानीयको आरोप छ । गुणस्तरीय मापन गरी स्तरीय काम गराउने जिम्मेवारी पाएका सघन सहरी विकासका प्राविधिक ठेकेदारमैत्री भएर कमिसनमा अलमलिन थालेपछि निर्माण सम्पन्न भएका तथा रकम भुक्तानी दिइएका सडक चिराचिरा हुँदै भत्कन थालेपछि आयोजनाका प्राविधिकको नैतिकता र कामको जिम्मेवारीप्रति प्रश्न उब्जन थालेको छ ।
स्थानीय लोकबहादुर कुँवरले बैशाख अन्तिम हप्तातिर कालेपत्रे गरिएको सो सडकको काम चलुन्जेल सरकारी प्राविधिक न्यून रूपमा अनुगमनमा आउने गरेको बताए । उनका अनुसार निर्माण कम्पनीले पनि कामदारका भरमा रातारात काम गरेको थियो । सोही कारण आवश्यक मात्रा नमिलेर कालोपत्रेमा अलकत्राको कमसल परिणाम राखिएर चिरिदै भत्कन थालेको हो । निर्माण सम्पन्न भएका सडकका नाली चर्कने, ग्राभेलिङ तथा कल्र्भट धसिने र कालोपत्रे उक्कने समस्या देखिन थालेको स्थानीय विष्णु राजवंशीको भनाइ छ । उनका अनुसार सडक निर्माणस्थलमा सरकारी प्राविधिक टोली कमै मात्र आउने गरेका छन् भने निर्माण ठेकेदार कम्पनीका प्राविधिक पनि पेटीे कन्ट्राक्टरका कामदारको भरमा विश्वस्त भएर निर्माणाधीन संरचना बनिइरहेका छन् ।

दुई महिना अगाडि कालोपत्रे गरिएका सडकमा अहिलेसम्म कालोपत्रेले सेट नलिइएको पाइएको छ । चन्द्रगढी सामुदायिक वन समितिको पश्चिम चन्द्रगढ हुँदै देउनिया खोला जोड्ने सडक, भद्रपुर नयाँ वजार हुँदै पोखरी पूर्व तथा पश्चिम रङ्गिला चौक निस्कने सडकको कालोपत्रेले निर्माण भएको दुई महिनामा पनि सेट नलिएपछि सवारी साधन आवागमनमा कालोपत्रे भत्कन थालेको छ ।कमजोर नियामकको फाइदा उठाउँदै ठेकेदार कम्पनीले कमसल निर्माण सामग्री प्रयोग गरिरहेका छन् । ग्राभेलिङमा मिक्स गिटी प्रयोग गर्नु पर्नेमा माटो मिसिएको धुलो बालुवाले पुर्ने काम भइरहेको स्थानीयको भनाइ छ । ५ इञ्च मोटाइको सडक नाली वाल ढलाइ हुनु पर्नेमा ४ इञ्चभन्दा बढीका ढलान गरिएको छैन । गिटी बालुवा र सिमेन्टको परिणाम समेत सम्झौता बाहिर भइरहे पनि गुणस्तर मापन गर्नेको दृष्टि पर्न नसक्नु रहस्यमय भएको स्थानीयको आरोप छ ।नियामकको भूमिकामा रहेको सघन शहरी विकास कार्यालय भद्रपुरका इञ्जिनियर विनोद सिंह भने सघन शहरी विकासअन्तर्गत भइरहेका कामको गुणस्तर कमसल हुन नदिइएको दावी गर्छन् । उनी निर्माण सम्पन्न भएपछि कतै कतै समस्या देखिए पुनः मर्मतसंहार गरेर मात्र ठेकेदार कम्पनीबाट सरकारले बुझ्ने बताउँछन् । उनले चन्द्रगढ देउनिया सडक खण्ड भत्कनुको प्रमुख कारण क्षमता भन्दा बढी भार बोकेका सवारी साधन आवागनले भएको बताए । मेची राजमार्गको चन्द्रगढी चारआली सडक खण्ड निर्माणका क्रममा अबरूद्ध हुँदा सो बाटो हिड्ने सवारी साधन देउनियाँ चन्द्रगढ सडकबाट आवातजावत गरेकै कारण भत्केको भएपनि पुनः निर्माण भएपछि भुक्तानी दिने सिंहले प्रष्ट पारे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्