झापा, असार २१ । झुठा विवरण पेश गरी १६ जना बिदेशी नागरिकलाई नागरिकता बनाई दिएको कसुरमा वारेन्ट जारी भइ फरार रहेका जिल्ला प्रशासन कार्यालय झापाका तत्कालिन प्रशासकीय अधिकृत सुरेश आचार्य काठमाडौबाट पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी निरीक्षक साकारराज पन्तले हिजो काठमाण्डौको गठ्ठाघरबाट आचार्यलाई पक्राउ गरेका हुन् ।
उनलाई आज आवश्यक कारबाहीको जिल्ला अदालत झापामा बुझाईएको छ । पक्राउ परेका आचार्यसहितले आर्थिक चलखेल गरेर १६ विदेशीलाई झापाबाट नेपाली नागरिकता दिएका थिए ।त्यस घटनामा संलग्न जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत गौरव ढुंगेल, नायब सुब्बा मेघराज निरौला, खरिदार तेजिन्द्र न्यौपानेलाई घटनालगतै निलम्बन गरी छानबिन थालिएको थियो ।घटनामा संलग्न भएको आरोेपमा ४६ जनामाथि उजुरी परेको छ ।
उजुरी पर्नेमा बिर्तामोड नगरपालिका ८ का वडाध्यक्ष अजय कार्की र भद्रपुर नगरपालिका ९ का वडाध्यक्ष शनिलाल राजवंशी पनि रहेका छन् । उनीहरु दुवै फरार छन् । आरोपितमध्ये कतिपयले हाजिर भएर सजाय भुक्तानी गरेका छन् भने कतिपय अझै फरार छन् । पाँच जनाले ०७३ र ११ जनाले जेठ ०७६ मा नागरिकता लिएका हुन् । गृहको छानबिनमा उनीहरू भारतीय, भुटानी र तिब्बती रहेको भेटिएको छ । भद्रपुर नगरपालिका–९, बिर्तामोड नगरपालिका–८ र साविकको शरणामति गाविसबाट उनीहरूलाई नागरिकता दिन सिफारिस गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्