झापा, असार २५ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १६ हजार पाँच सय ३१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०८ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १६ हजार पाँच सय ३१ पुगेको हो। बुधबार २५५, मंगलबार २०४ र सोमबार १८० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका २५ पीसीआर प्रयोगशालामा चार हजार पाँच सय ८८ जनाको नमुना परीक्षण गरिएको छ। स्वास्थ्य मन्त्रालयले संक्रमण घट्दै गएको र जनजीवन सामान्य बन्दै जाँदा भीडभाडले अझ खतरा हुने प्रति सचेत गराएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमले यस्तो आग्रह गरेका हुन् । क्वारेन्टाइन र आइसोलेसनमा बस्नेको संख्या घट्नु संक्रमणको जोखिम घट्नु नभएको भन्दै उनले सचेत हुन सबैलाई आग्रह गरेका हुन् ।
अहिले क्वारेन्टाइनमा २४ हजार ४ सय २५ जना रहेका छन् भने आठ हजार ६ सय ५ जनाको आइसोलेसनमा उपचार भइराखेको छ। पछिल्लो २४ घण्टा एक सय ३९ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने सात हजार आठ सय ९१ पुगेको छ।